काठमाडौं– सानिगाड हाइड्रो लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन आह्वान गरेको हो ।

सानिगाड हाइड्रोले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८५ करोड ५० लाख रुपैयाँ बराबरको कुल ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता शेयर बिक्री भई बाँडफाँट समेत भइसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीका लागि १ लाख ७१ हजार कित्ता र सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि २ लाख ८५ हजार कित्ता शेयर छुट्याएर बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ । यी सबै चरण पूरा भएपछि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर अब सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो ।

यस्तो छ लगानीको सीमा र समयतालिका:

प्रतिशेयर मूल्य: १०० रुपैयाँ

न्यूनतम आवेदन: १० कित्ता (१,००० रुपैयाँ)

अधिकतम आवेदन: २०,००० कित्ता

निष्काशन खुल्ने मिति: जेठ १४ गते

बन्द हुने मिति (छिटोमा): जेठ २० गते

बन्द हुने मिति (ढिलोमा): जेठ २८ गते

लगानीकर्ताहरूले छिटोमा जेठ २० गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा मात्रै ढिलोमा जेठ २८ गतेसम्म आवेदन दिने म्याद थप हुने कम्पनीले उल्लेख गरेको छ ।