ट्रम्पद्वारा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मङ्गलवारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि रोक्न पेन्टागनलाई निर्देशन दिएका छन् । खाडी क्षेत्रका मित्र राष्ट्रहरूले इरानसँग सर्वमान्य शान्ति सम्झौताका लागि पहल गरिरहेकाले सैन्य कारबाही स्थगित गरिएको उनले बताएका हुन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीले भोलिका लागि तय गरेको इरानमाथिको आक्रमण अहिलेलाई स्थगित गरेका छौँ ।’ यद्यपि, कुनै स्वीकार्य सम्झौता हुन नसकेको खण्डमा जुनसुकै समयमा पनि पूर्ण र ठूलो स्तरको सैन्य आक्रमणका लागि तयारी अवस्थामा रहन उनले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) लाई आदेश दिएका छन् ।
राष्ट्रपति ट्रम्पका अनुसार हाल इरानसँग ‘गम्भीर वार्ता’ भइरहेको छ । खाडी मुलुकका नेताहरूको विश्वास बमोजिम अमेरिका, मध्यपूर्व र अन्य देशहरूलाई समेत मान्य हुने गरी छिट्टै सम्झौता हुने संकेत उनले गरेका छन् ।
कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूको विशेष अनुरोधमा आफूले प्रस्तावित सैन्य आक्रमण रोकेको ट्रम्पले स्पष्ट पारेका छन् । इरान र अमेरिकाबीचको बढ्दो तनावका बीच खाडी मुलुकहरूको यो मध्यस्थतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्