आइसीसी क्रिकेट विश्वकप लिग लिग-२ नेपालको पहिलो जीत

२५ माघ, काठमाडौं । युवा अलराउण्डर कुशल मल्लले ओडीआई (एक दिवशीय) डेब्युमा कीर्तिमानी अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग-२ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ । यस जितपछि नेपालले ७ टिम सम्मिलित लिगमा अंकको खाता समेत खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको यो पहिलो जित समेत हो । नेपालले जितपछि २ अंक जोडेको छ ।
ओडीआई डेब्युमा कुशलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । विकेटकिपर विनोद भण्डारीले पनि अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा १९० रन बनाएको थियो । कुशल डेब्युमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने । ४९-५ मा रहेको नेपाली इनिङ्स कुशल र विनोदले नै सम्हालेका थिए ।
नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको हो ।
१९१ को लक्ष्य पछ्याएको अमेरिकाले खराब शुरुवात गरेको थियो । करण केसी र सन्दीप लामिछानेको जोडीले शुरुवाती ४ ओभरमै ४ विकेट लिएर अमेरिकालाई दबाबमा राखेका थिए ।
पहिलो ओभरमा करण केसीले २ रन मात्र दिएका थिए । खेलको दोस्रो ओभरमै बलिङ गरेका स्पीनर सन्दीपले आरोन जोन्सलाई चौथो बलमा एलबीडब्लु आउट गर्दै पहिलो सफलता दिलाए । तेस्रो ओभरमा करण केसीले २ विकेट लिए । करणले स्टेभेन टेलरलाई दिपेन्द्रको हातबाट क्याचआउट गराए । भने अन्तिम बलमा जेभियर मार्सललाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।
चौथो ओभरमा सन्दीपले ४ रन बनाएका मोनांक पटेललाई एलबीडब्लु आउट गर्दै नेपाललाई चौथो विकेट दिलाए । १३ रनमै ४ विकेट गुमाएको अमेरिकाले २७ रन हुँदा पाँचौ विकेट गुमायो । इयान होल्याण्ड र अक्ष मराजले अमेरिकाको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर सुशन भारीले ११औं ओभरको पहिलो बलमै सुशन भारीले अक्ष होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।
प्रतिक्रिया दिनुहोस्