काठमाडौँ- अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा यो साता सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ । गत जेठ १ गते शुक्रबार नेपाली बजारमा प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन एक हप्तापछि अर्थात् जेठ ८ गते शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँमा झरेको हो । समग्रमा यो साता मूल्य बढ्नेभन्दा घट्ने क्रम तीव्र देखियो ।

साताको सुरुवातदेखि नै सुनको मूल्यमा ठुलो फेरबदल आउन थालेको थियो । जेठ ३ गते आइतबार एकैदिन प्रतितोला ४ हजार ५०० रुपैयाँको भारी गिरावट आएसँगै सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ कायम भएको थियो । त्यसपछिका लगातार दुई दिन भने बजारमा सामान्य सुधार देखियो । जेठ ४ गते सोमबार प्रतितोलामा ८०० रुपैयाँ बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्य जेठ ५ गते मंगलबार पुनः ५०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको उत्तरार्धमा पनि मूल्य स्थिरता कायम हुन सकेन । जेठ ६ गते बुधबार मूल्यमा पुनः व्यापक उतारचढाव आउँदा सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भयो । जेठ ७ गते बिहीबार भने बजारले फेरि उकालो यात्रा तय गर्‍यो, जहाँ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर मूल्य २ लाख ९३ हजार ८०० रुपैयाँ पुग्यो । साताको अन्तिम दिन जेठ ८ गते शुक्रबार भने प्रतितोलामा थप १०० रुपैयाँको सामान्य गिरावट आउँदै २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार बन्द भएको महासंघले जनाएको छ ।

व्यवसायीहरूका अनुसार मध्यपूर्वी क्षेत्रमा जारी युद्ध र भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य अस्थिर बनेको हो । त्यसकै प्रत्यक्ष असर नेपाली बजारमा पर्दा मूल्य कहिले ह्वात्तै बढ्ने र कहिले ह्वात्तै घट्ने अवस्था सिर्जना भएको सुनचाँदी व्यवसायीहरूको भनाइ छ ।