काठमाडौँ- आगामी जेठ १४ गतेदेखि मुलुकभर लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । जेठ महिनामा लगातार चार दिन बिदा हुन लागेको यो पहिलो पटक हो ।

गृह मन्त्रालयले आगामी जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुज्जुहा) का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गर्दै सूचना जारी गरिसकेको छ । त्यसको भोलिपल्ट जेठ १५ गते राष्ट्रिय पर्व गणतन्त्र दिवस परेकाले स्वतः सार्वजनिक बिदा हुनेछ ।

यस वर्ष जेठ १६ गते शनिबार परिआएको र जेठ १७ गते आइतबार समेत सार्वजनिक बिदाकै दिन भएकाले सर्वसाधारणले लगातार चार दिन बिदा पाउने भएका हुन् । यसरी पर्व, दिवस र साप्ताहिक बिदा एकैसाथ जोडिएर आउँदा जेठ दोस्रो साता सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शिक्षण संस्थाहरू लगातार चार दिन बन्द रहनेछन् ।