कालंगा हाइड्रोले आईपीओ निकाल्दै
काठमाडौँ- कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि ढोका खोलेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ४९ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि नै आयोजना प्रभावितका लागि १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ३ लाख ५० हजार कित्ता शेयर बिक्री गरिसकिएको छ। त्यसैगरी सामूहिक लगानी कोषलाई १ लाख ९५ हजार कित्ता र कर्मचारीका लागि १ लाख ५ हजार कित्ता शेयर सुरक्षित गरी बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ।
अहिले सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको शेयर २८ लाख ७० हजार कित्ता हो, जसको कुल मूल्य २८ करोड ७० लाख रुपैयाँ रहेको छ। इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्काशन छिटोमा जेठ १३ गते र सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ २२ गतेसम्म खुला रहनेछ।
कम्पनीको वित्तीय अवस्था र जोखिमको विश्लेषण गर्दै केयर रेटिङ्ग नेपालले यसलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।




प्रतिक्रिया दिनुहोस्