प्रहरी अधिकृतको तस्करसँग अनुचित हिमचिम
पैसा लिएर काठ तस्कर भगाएको पुष्टि

दोस्रो मुलुकसँग खुला सिमाना जोडिएको जिल्ला वा क्षेत्र हरेक दृष्टिकोणबाट संवेदनशील मानिन्छ । अवैध तथा गैरन्यायिक गतिविधीहरु निर्वाध रुपमा स्वचालित हुने भएकाले सरकारले भारतसँग सिमा जोडिएका जिल्लाहरुलाई विशेष सुरक्षा रणनीति अनुसार अलर्टमा राखेको हुन्छ । भारतसँग सिमा जोडिएको बाँके जिल्लामा अवैध भन्सार छली, तस्करी र अनुचित गतिविधीहरुका घटनाहरु लामो समयदेखि हुँदै आइरहेका छन् । यसको नियन्त्रण गर्ने प्रमुख दायित्व रहेको प्रहरी संगठनका अधिकृत नै तस्करसँग मोलमोलाई गर्दै अनुचित हिमचिम बढाएपछि अवस्था के होला ?
नेपाल प्रहरीका एक एसपीले आर्थिक चलखेलका आधारमा काठ तस्करलाई पक्राउ गरेर छाडेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन एसपी ओमबहादुर रानाले तस्कर छाडेको खुलेको हो । उनीमाथि कारबाही प्रक्रिया अघि बढेको छ ।
प्रदेश प्रहरी कार्यालय लुम्बिनीले गठन गरेको छानबिन समितिले यसमा एसपी रानाकै मिलेमतो रहेको औंल्याएको हो । प्रदेश कार्यालयका एसपी राजेन्द्रसिंह खड्का नेतृत्वको छानबिन समितिले प्रहरी प्रधान कार्यालयलाई गत मंगलबार प्रतिवेदन बुझाएका छ ।
गत बैशाखमा जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी टोलीले डुडुवा– ६ हिलमिनियाबाट सालको काठसहित निसार खाँलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी हत्कडीसहित भागेको भनेर माथिल्लो निकायलाई खबर गरिएको थियो । तर, प्रहरीले बरामद गरेको उनको मोटरसाइकल तथा मोबाइल पनि फिर्ता भएपछि घटना शंकास्पद बनेको थियो ।
प्रहरीले भगाएको सूचनाका आधार प्रदेश प्रहरीले समिति नै बनाएर छानबिन थालेको थियो । जसमा एसपीकै मिलेमतोमा खाँ भागेको देखिएको हो । ‘पक्राउ परेका व्यक्ति भाग्न सक्ने भए तर, मोटरसाइकल र मोबाइल समेत फिर्ता हुुनले मिलेमतो देखियो’ छानबिन संलग्न एक प्रहरी अधिकारीले भने,‘यसमा एसपीकै मिलेमतो प्रष्ट देखिएको छ, प्रतिवेदन बुझाइसकेका छौं, हेरौं कारबाही के हुन्छ ।’ प्रतिवेदनमा यसमा आर्थिक चलखेलको आशंका गरिएको छ ।
त्यसरी काठ बरामद गरी पक्राउमा संलग्न प्रहरीसँग पनि छानबिन समितिले सोधपुछ गरेको थियो । जसमा सुरुमा उनीहरुले खाँ भागेको बताएपनि पछि एसपीकै आदेशम छाडेको बताएका थिए । खाँ हत्कडी नै लिएर भागेमा पछि हत्कडी भने फिर्ता गरेका थिए । ‘हत्कडी फिर्ता गरेपछि प्रहरीले पनि उनको मोटरसाइकल र मोबाइल फिर्ता गरेको देखियो,’ छानबिन समिति स्रोतले बतायो ।
एसपी रानाको काठमाडौं सरुवा भइसकेपछि यस विषयमा छानबिन सुरु भएको थियो । हाल प्रदेको छानबिन प्रतिवेदनमाथि प्रहरीको उजुरी छानबिन शाखाले कारबाही प्रक्रिया अघि बढाएको छ । एसपीमाथि कारबाही टुंगिएपछि त्यसमा संलग्न अन्य प्रहरीमाथि कारबाही गर्ने प्रदेश प्रहरी कार्यालयको तयारी छ ।
एसपी राना यसअघि पनि पटक–पटक कारबाहीमा परेका अधिकृत हुन् । रसुवामा जिल्ला प्रमुखका रुपमा काम गर्दा रक्तचन्दन तस्करीमा मिलेमतो देखिएपछि उनमाथि विभागीय कारबाही भएको थियो । सोही घटनामा सेनाका कर्णेल बर्खास्त हुँदा उनलाई भने राजनीतिक पहुँचको आधारमा सामान्य कारबाही गरेर जोगाइएको प्रहरी अधिकारीहरु बताउँछन् । विवादास्पद पृष्ठभुमी भएपनि दबाबकै भरमा कास्की, बाँके जस्ता जिल्लाको इन्चार्ज दिइएको थियो । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरालाई आर्थिक प्रभावमा पारेर उनले यसरी महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका हुन् । बाँकेमा उनले एक करोड भन्दा धेरै कमाएको प्रहरी स्रोत बताउँछ ।
(दृष्टि अनलाइनको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्