गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
गुल्मी- कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका थापाकोे टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो । उनीहरु दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गए राति मृत्यु भएको प्रहरी जनाएको छ ।
दुर्घटनाको जानकारीप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । शवलाई आज बिहान घटनास्थलमा मुचुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याई पु-याइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्