‎‎काठमाडौँ- नेपाली चलचित्रका महानायक राजेश हमालको चर्चित प्रेरणादायी टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली सिजन–२’ बुधबारदेखि प्रसारणमा आउने भएको छ । कार्यक्रम हरेक बुधबार साँझ ८:३० बजे हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुनेछ भने दर्शकहरूले युट्युब च्यानल “यो नेपाली शिर उचाली” मार्फत पनि हेर्न सक्नेछन् ।

विदेशी भूमिमा संघर्ष गर्दै उल्लेखनीय सफलता हासिल गरेका नेपालीहरूको जीवनकथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको कार्यक्रममा महानायक राजेश हमाल स्वयं उनीहरूको कर्मथलोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रममार्फत विदेशमा रहेर आफ्नो पहिचान स्थापित गर्न सफल नेपालीहरूको संघर्ष, सफलता, अनुभव तथा प्रेरणादायी यात्रालाई दर्शकमाझ ल्याइने जनाइएको छ ।

‎कार्यक्रमको दोस्रो सिजन विशेषगरी अष्ट्रेलियामा केन्द्रित रहनेछ । अष्ट्रेलियाका विभिन्न शहरमा व्यवसाय, शिक्षा, प्रविधि, सामाजिक सेवा, कला तथा अन्य विविध क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरूको कथा यस सिजनमा समेटिने बताइएको छ । विदेशमा बसेर पनि नेपाली पहिचानलाई गर्वका साथ अघि बढाइरहेका व्यक्तित्वहरूको प्रेरणादायी जीवन यात्राले कार्यक्रमलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ ।

‎‘यो नेपाली शिर उचाली’ कार्यक्रम मुभ मिडिया प्रा.लि.ले निर्माण गरेको हो । अष्ट्रेलियामा भने एसजिटी प्रोडक्सनको सहकार्यमा कार्यक्रमको छायाङ्कन गरिएको निर्माता पक्षले जनाएको छ । कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीका अनुसार पहिलो सिजनजस्तै दोस्रो सिजन पनि १३ भागको हुनेछ ।

‎रेग्मीले कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई विश्वभर रहेका नेपालीहरूको संघर्ष र सफलतालाई स्वदेशसँग जोड्ने एउटा अभियानका रूपमा अघि बढाइएको बताए । उनका अनुसार विदेशमा रहेका नेपालीहरूसँग भएको ज्ञान, अनुभव र सीपलाई नेपालसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा सकारात्मक बहस सिर्जना गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो ।

‎गत वर्ष युरोप केन्द्रित पहिलो सिजनले दर्शकमाझ राम्रो चर्चा बटुलेको थियो । पहिलो सिजनमा युरोपका विभिन्न देशमा सफल नेपालीहरूको जीवनकथा प्रस्तुत गरिएको थियो । निर्माता रेग्मीका अनुसार आगामी सिजनहरूमा अमेरिका, क्यानडा, मध्यपूर्व लगायत विश्वका विभिन्न देशमा रहेका नेपालीहरूको संघर्ष र सफलताको कथा पनि क्रमशः समेटिँदै जानेछ ।

‎कार्यक्रममा महानायक राजेश हमालको प्रस्तुति, नेपालीपनप्रतिको भावनात्मक जोड र विदेशमा रहेर देशको नाम उचो बनाइरहेका नेपालीहरूको प्रेरणादायी कथा दर्शकका लागि विशेष आकर्षण बन्ने विश्वास गरिएको छ ।