काठमाडौँ– टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बुधबार (वैशाख २३ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशतले हुन आउने कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयरमध्ये बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ। यसअघि स्थानीयका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ हजार ६७ कित्ता शेयर वितरण भइसकेको छ।

त्यसैगरी, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा छिटोमा वैशाख २८ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने प्रावधान छ।

कस्तो छ रेटिङ?
केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस (बीबी प्लस)’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मेरो शेयर’ अनलाइनमार्फत सहजै आवेदन दिन सक्नेछन्।

भोजपुर जिल्ला भएर बहने पिखुवा खोलामा निर्माण भएको यस जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता ८ मेगावाट रहेको छ।