टेकराज पनेरु

पुर्विय दर्शनमा राजसंस्थाको औचित्य र सान्दर्भिकता छ। राजसंस्था एक किसमले धर्मसंस्था हो। देशकाल परिवेश अनुसार हाम्रा पुर्वजहरुले धेरै किसिमका राज्य ब्यवस्थाका प्रयोग गरेको देखिन्छ। राजसंस्थाको अवधारणामा राजाले धर्माधिन रहेर धर्म संरक्षण गर्नु त्यो शासन प्रणालीको मुलभुत आदर्श हो।

राजाको परिकल्पना हिन्दु दर्शन पुर्ण प्रजातान्त्रिक छ। धर्म भन्दा माथी कोही छैन। सबैले आ-आफ्नो धर्म पालन गर्नुपर्छ।स्वधर्म पालन नगरेमा जसमाथी पनि टिका टिप्पणी गर्न पाईन्छ। राजा दरवार र दरवारीयाहरु अनन्त ब्रम्हा होइनन् जसले कुनै गलती गर्दैनन भन्नलाई। राजाले गलती गर्ने भएकाले राजधर्मको मापदण्ड बनाईएको र राजाभन्दा माथी ऋषि मण्डल राखिएको हो।पहिले राजा ऋषि मण्डलको इसारामा काम गर्थे र विवादीत हुन्थेनन राजा बाट अधर्म र अन्याय हुन्थेन। यदी राजाले उन्मत्त भएर अधर्म गरेमा उसलाई ऋषिहरुले गद्दीच्युत गरेको र राजा बेन लाई त बध समेत गरेको दृष्टान्त छ ।

यदि राजा अयोग्य भएमा वा राजपुत्र अयोग्य देखेमा ऋषिहरुले योग्य पात्रलाई राजा बनाउने सनातन परम्परा हो। राजाले ऋषि मण्डल त्यागेर सत्ताको उन्मादमा शिशी मण्डलको इसारामा नाच्न थालेपछि धेरै राजशाही समाप्त भएको, ईस्लामिक र इसाई अतिक्रमणको चपेटामा समाज फसेको छ।नेपालमा पनि पृथ्वीनारायण शाह रणबहादुर शाह पश्चातका राजाहरूले राजधर्म छोडेर आपसी खिचातानी भोग विलासमा डुबेपछी नेपालको पराजय भयो भने राजाहरूले स्वयं राणाहरुको सम्मानित कैदी बनेर १०४ वर्ष वस्नु पर्‍यो। जनता संगको सहकार्यमा राजा राणाको कैद बाट मुक्त भए। महेन्द्रले देशलाई ऋषि विचारमा हिडाउने प्रयत्न गरे।जसले गर्दा आजसम्म नेपालको भिन्न पहिचान रहेको छ।तर बिरेन्द्र विदेशी विचारमा चल्न खोजे पछी देशमा विदेशी प्रभाव विस्तार हुन थाल्यो।दरवार भित्र विदेशीको प्रभुत्व स्थापित भएपछि शिक्षा नीति परिवर्तन गर्ने गुठी बेच्ने जस्ता हिन्दु बिरोधि काम भए।योगी नरहरीनाथ जस्ता अवतारी पुरुष ३/३ पटक जेल परे ।जसले गर्दा देश बहुदलमा पुग्यो अन्ततः विरेन्द्रको वंश नास भयो। जेठ १९ पछी गणतन्त्र घोषण भैसकेको थियो बाबुराम मार्फत विदेशीहरुले नयाँ कोतपर्वलाई मान्यता दिनु हुदैन भन्ने संदेश सार्वजनिक गरेका थिए तर भारतमा अटल विहारी बाजपेयी प्रधानमन्त्री भएको कारण पश्चिमा मिसन सफल भएन बाजपेयीले ज्ञानेन्द्र लाई समर्थन दिएपछि अन्य रास्ट्रले पनि समर्थन गरे।अन्तत!विदेशीहरुले ज्ञानेन्द्रलाई र दलहरूलाई दोहोर प्रयोग गर्दै देशलाई गणतन्त्रमा धकेले राजालाई सत्ताच्युत गराए।

रोलक्रमले नभै संयोगले राजा बनेका ज्ञानेन्द्रले राजकीय गुण र धर्मबाट पटकपटक विमुख भएर अपरिपक्वता देखाउनु भएको छ। जसले गर्दा राजाको औचित्य माथि प्रश्न चिन्ह खडा भएको छ।उनले पटकपटक अधर्म अन्याय र गलती गर्दैछन् त्यसैले गणतन्त्र आएको र जोगिएको छ।राजाले मित्रभेद गराउनु हुदैन।सत्रु संग गर्ने व्यवहार अनुचर संग गरेमा राजाको विश्वास र गरिमा घटछ।जसले गर्दा राजाको बल कमजोर हुन्छ।देशकाल परिस्थिति नबुझी दरवारीयाको उस्काहटमा चौतर्फी हमला गर्दै असोज १८ माघ १९ मा चालेका कदम अपरिपक्व थिए।जसले गर्दा गणतन्त्रको माहोल बन्यो र देश गणतन्त्रको अँध्यारो सुरुङमा फस्यो।माघ १९ को कदम पछी हिन्दुत्वको लागि जीवन समर्पित गरेका हिन्दु स्वयंसेवक संघका प्रचारकहरुलाई माघको जाडोमा कट्टु र गंजिमा हिरासतमा राखेर ती तपस्वी साधकहरुलाई प्रताडित गरियो। पटकपटक राजाको निर्देशन /आडमा वा आफ्नो स्वार्थमा दरवारीयाले खेलेका खेलहरु निन्दनीय र घृणित छन।दर्जनौं हिन्दुवादी/राजावादी पसल खोल्नुमा दरवारीयाहरुको प्रमुख भुमिका छ।आफ्नाहरुलाई जुटन नदिने आपसी द्वन्द्व सृजना गराएर गणतन्त्र जोगाउनमा दरवारियाहरुको प्रमुख भुमिका छ।

अहिले पनि राप्रपाको महाधिवेशनमा दरवारियाले खेलेको खेल तिरस्कृत छ। सबै दलाललाई विश्वासमा लिएर सबैको साझा संस्थाको रूपमा तठस्त भएर रहनुपर्ने न्यायीक संस्था एउटा पार्टी त्यसमा पनि एउटा गुटको लागि सकृय हुन्छ भने कसरी आम राजनैतिक दल र जनतालाई विस्वस्त पार्ने ? राजाले अन्याय गर्दैनन् कसरी भन्ने ? कमल थापा लाई अन्याय गर्ने राजाले कसलाई न्याय देलान् ? कसैको जित हार प्रमुख कुरा होइन । कसैले यसमा आत्मरत्ती लिनुपर्ने वा ग्लानिबोध गर्नुपर्ने कुनै कारण छैन।

बाख्रा खाएको चिन्ता भन्दा पनि बाघ पल्केको चिन्ता हो। आज थापा विरुद्धमा लविङ गर्नेहरू भोलि लिङदेन विरुद्धमा लविङ गर्दैनन् भन्ने ग्यारेन्टी के? राप्रपा राजनैतिक पार्टी हो भने राप्रपाको नेता को बन्ने राप्रपाले कसरी अगाडि बढने तय दरवारियाले गर्ने कि नेताकार्यकर्ताले? अब राप्रपामा नेता बन्न कुन दरबारियाको आशिर्वाद चाहिने हो? त्यसैले दरवारीयाले गरेको घृणित हर्कतको छानबिन हुनुपर्छ ,सचेत र खबरदारी गरिनुपर्छ । राजाको बारेमा कुनै टिकाटिप्पटी गर्नुहुदैन भन्नेहरुले कुनै धर्म शास्त्र नपढेको र आफ्नो हैसियत क्षमतामा नबुझेको र आफैलाई विश्वास नगरेको तथा दरवारियाको आशिर्वादमा नै हैसियत पाएको भन्ने प्रष्ट बुझिन्छ। पार्टीलाई पार्टी नबनाएर केवल राजाको भजन मण्डली बनाउने हो र दरवारीलाई राप्रपाको मार्गदर्शक बनाउने हो र उनीहरुले नेताकार्यकर्ताको भविस्य निर्धारण गर्ने हो भने पार्टी क्लब हुनेछ। क्लब नै बनाउने भएपछि किन कसैको माग सम्बोधन गर्ने? चन्द्रसमसेरले सतिप्रथा उन्मुलन गरे पनि सती जान तयार हुन्छन् भने त्यो परम्परा छदैछ भनेर बुझ्नु उपयुुक्त रहने भयो। दरवारीयाको आशिर्वाद प्राप्त गर्न नसक्ने तथा स्वाभिमानीहरुले किन राप्रपा हुने?राजनीति स्वाभिमान र विचारको लागि गरिन्छ न कि अन्धभक्तीको लागि। त्यसैले दरवारलाई सचेत गराएर रास्ट्रवादी आन्दोलन अगाडि बढाउने वा दरवारीयाको अन्धभक्ती गरेर डुबाउने जिम्मेवारी अहिलेको केन्द्रिय अध्यक्षमा रहेको छ।बाकी जो मर्जी करो और परिणाम …..

दरवार र दरवारीयाहरुको अदुरदर्शी गैरजिम्मेवार र कुन्ठित हर्कतले जेसुकै चटक देखाए पनि राजसंस्था पुनःस्थापन हुन सक्दैन ।राजा सबैको साझा हुन भने साझा नै रहनुपर्छ कुनै गूठको होइन ।सबैको समझदारीमा पुनःस्थापन गराउन सक्नु दुरदर्शिता हो। यदि राजालाई सकृय हुने रहर भए धर्म परिवर्तन विरुद्धमा उभिएर आव्हान गरेर लाग्नुपर्छ ।

(टेकराज पनेरु राप्रपा नेता हुनुहुन्छ। उहाँकाे फेसबुकबाट साभार)