काठमाडौं । नागढुङ्गाहुँदै काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनका बिषयमा जानकारी लिन काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज काठमाडौं र धादिङ् जिल्लाको सिमाना खत्रीपौवा पुगेकि छिन् ।

काठमाडौंबाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु आउन थालेको खवर बाहिरिन थालेपछि अवस्थाका बिषयमा जानकारी लिन उनि नागढुङ्गा हुँदै खत्री चोक पुगेको महानगरले जनाएको छ । त्यस क्रममा उनले नागढुङ्गा र खत्री चोक दुवै ठाउँमा बसेर सवारी साधन भित्रिने गति, भित्र आउने सवारीको प्रयोजन, सवारी र सवारीमा आउने व्यक्तिको अभिलेख राख्ने तरिका अवलोकन गरेको र सवारी चालकसँग भित्र आउनु पर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिएको महानगरले जनाएको छ । उनले मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क वितरण गरेकी थिइन यस्तै कार्यक्षेत्रमा रहेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसँग कुराकानी गरेकी छिन् ।

अवलोकनपछि प्रतिक्रिया दिँदै उपप्रमुख खड्गी श्रेष्ठले भनिन् — रातारात मान्छे काठमाडौं भित्रिए भनेर जुन तहमा खबर बाहिर आएको छ । त्यस्तो डरलाग्दो अवस्था देखिएन । उपत्यकामा आवश्यक पर्ने खाद्यबस्तु, तरकारी ढुवानी गर्ने ट्रकहरु, पेट्रोलियम बस्तु ढुवानी गर्ने साधनहरु, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स भित्रिँदै गरेका भेटिए ।

हामी हरेक नागरिकको सुरक्षा अवस्थाप्रति गम्भीर छौं । — नागरिकको आवतजावत गर्ने अधिकारप्रति संवेदनशील छौं । तर, अहिले आवतजावत गर्ने समय होइन । महामारी नियन्त्रण गर्न जो जहाँ हुनुहुन्छ । त्यहँि बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गर्दछु उनले भनिन् ।

नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरेको छ । यो व्यवस्था राम्रो हो, उपप्रमुख खड्गी श्रेष्ठले भनिन् — केही समयका लागि यसलाई कडाइ गर्नोस् । महामारी नियन्त्रणमा आएपछि, जनजीवन सहज हुनेभएपछि विस्तारै खुकुलो बनाउनुपर्छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ धादिङ् र काठमाडौको सिमाना खत्री पौवामा थिए त्यहाँ आएका सवारी साधनको विवरण टिपेर भित्रिन दिने नदिने निर्णय गर्न उनलाई भ्याइनभ्याइ थियाृ । यसै क्रममा महानगरकी उपप्रमुख खड्गी श्रेष्ठ पुगेपछि उनले अवस्थाका बिषयमा जानकारी दिँदै भनिन — अत्यावश्यक सामाग्री बोकेका सवारी साधनलाई हामीले प्रवेश दिने गरेका छौं । प्रवेश नगर्दा पनि हुनेलाई यहाँबाट नै फर्काउने गरेका छौं ।े — सोमबार हामीले ३७ वटा सवारीलाई यहीँबाट फकायौं भने मंगलबार १०३ वटा फर्कायौं । हामीले काठमाडौंको जनजीवनलाई सहज बनाउन जे सामाग्री आवश्यक पर्छ, ती सवारी साधन पठाउनै पर्छ । अहिले नभएपछि हुने सामाग्री बोक्ने र अहिले काठमाडौं नगएपनि हुनेलाई फर्काउने गरेका हौं । उनकाअनुसार अहिले बिदेशी नम्बर प्लेट भएका कुनै पनि सवारीसाधनहरु आउने गरेका छैनन् । काठमाडौंमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्लाहरु धादिङ्, चितवनलगायत ठाउँबाट आउने गरेका हुन् । वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औसतमा ५०० वटा सवारी साधन भित्रिने गरेका छन् ।