काठमाडौँ। बालुवाटारमा मंगलवार बिहान सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरूबीच छलफल भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच आगामी स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । तीन नेताबीच बिहान करीब ११ बजेबाट छलफल शुरू भएको थियो । गत शनिवार बसेको सचिवालय बैठकमा यही वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने र त्यसको अघिल्लो दिन २४ गते सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।

स्थायी कमिटी बैठकको तयारीका लागि दस्तावेज बनाउने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् । दस्तावेजमा समसामयिक परिस्थिति, पार्टी र सरकारको पोजिसन कसरी उल्लेख गर्ने भन्ने विषयमा नेतात्रयबीच छलफल भएको हो ।

गत शनिवार सचिवालय बैठकमा भएको सहमति अनुसार अघि बढ्ने प्रतिबद्धता नेताहरूले जनाएपनि वरिष्ठ नेता असन्तुष्ट देखिन्छन् ।

सोमवार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच श्रेष्ठनिवास हात्तीवनमा गोप्य छलफल भएको थियो ।

छलफलमा केही शर्तहरू पूरा नगरे स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तय गरिएको स्रोतले लोकान्तरलाई जानकारी दिएको थियो । तीन नेताबीचको शक्ति सन्तुलनलाई कसरी मिलाएर अघि बढ्ने भन्ने विषयमा नेकपाभित्र धेरै पहिलेदेखि रस्साकस्सी चलिरहेको थियो ।