टाइटेनिक, ओली जहाज र कोरोना

काठमाडौँ । आज अप्रिल महिनाको १४ तारिख । धेरैलाई याद भएकै कुरा हो की आजकै दिन बेलायतको साउटह्याम्पटनबाट अमेरिका जाँदै गरेको संसारकै ठुलो भनिएको टाइटानिक पानीजहाज एटलान्टिक महासागरको हिम पर्वतमा ठोक्किएर डुबेको थियो ।
१९१२ अप्रिल १० मा निस्किकने उक्त जहाज १५ अप्रिल बिहानै समुद्री पिँधमा पुगेर विलय भएको थियो । दुई हजार २ सय २४ मानिस बोकेर युरोपदेखि निस्केको उक्त पानीजहाज डुब्दा ५० जना बालबालिका सहित करिब १५ सय मानिस बेपत्ता भए । स्थानीय समय अनुसार रातको ११ः४० मा उक्त जहाज महासागरको हिम पर्वतमा ठोक्किएको थियो । त्यति बेला समुद्रको पानीको तापक्रम माइनस २ डिग्री सेल्सियस थियो भनिन्छ । जसका कारण २ घण्टा भित्रै करिब १५ सय व्यक्ति बरफ जम्ने समुद्री पानीमा बेपत्ता भए । जहाज डुबेको झन्डै ७३ वर्षपछि मात्रै जहाजका अवशेष समुद्रको १२ हजार ५ सय फिट तल भेटिए । यो दुःखद घटना संसारले अहिले पनि याद गरिरहेको हुन्छ किनभने हतियार बिनाको युद्धमा यति धेरै मानिस मारिएको त्यो पहिलो जहाज दुर्घटना थियो ।
टाईटानिक जहाज दुर्घटना भएपछि कारण बारे धेरै अड्कलबाजी गरिए । धेरै समय त यसको दुर्घटनाको कारण खोज्नमै बित्यो । टाईटेनिकलाई कहिल्यै नडुब्ने जहाज पनि भनिएको थियो,त्यसैले पनि यसलाई कसैले षड्यन्त्र गरेर दुर्घटनामा पारेको हो वा आफैँ दुर्घटनामा पर्यो की चालक दलको लापरबाही थियो ? यस्ता प्रश्नहरू उठिरहे तर,जहाज किन र कसरी दुर्घटनामा पर्यो त ? भन्ने केही तथ्यहरू यस्ता भेटिए ।
१.जहाज दुर्घटनामा पर्दैछ भन्ने जानकारी क्याप्टेन स्मिथलाई ६ पटक सम्म गराइएको थियो तर उनले स्पिड घटाएनन् ।
२.जहाज अत्यधिक तीव्र गतिमा चलाइएको थियो जसले सबैभन्दा छिटो अमेरिका पुग्ने र सर्वाधिक छिटो कुद्ने पानीजहाज भनेर विश्व रेकर्ड बनाउने सपना देखाइएको थियो ।
३.कहिल्यै नडुब्ने जहाज भनेर गरिएको हेलचेक्राई । जबकि जहाजमा कम्तीमा २० लाइफ बोट मात्रै भएको भए पनि ११ सय भन्दा बढी मानिसलाई जीवितै उद्धार गर्न सम्भव थियो । अझै आश्चर्यको कुरा त जहाज डुब्ने निश्चित भइसक्दा पनि जहाजमा रहेका सङ्गीतकारहरू गीत गाउँदै थिए ।
यसरी टाईटेनिक पानीजहाज दुर्घटना विश्वकै एउटा दुःखद र आजको दिनमा पनि सबैले सम्झिनै पर्ने घटना बनेर बसेको छ । टाइटेनिकको सन्दर्भलाई छाड्ने हो भने यहाँ एउटा प्रश्न जबरजस्त उठेको छ । यति बेला के हाम्रो देश पनि झन्डै झन्डै टाईटेनिककै अवस्थामा त पुगेको छैन ? सधैँ पानीजहाजको कुरा गरेर नथाक्ने हाम्रा प्रधानमन्त्री ज्यूलाई पानीजहाज बोल्न भन्दा चलाउन गाह्रो हुने विषय हो भन्ने लाग्दैन ?
पार्टी चलाउन त एक्लै नभै दुई दुई जना क्याप्टेन सबैले राख्न थालेको यो समयमा प्रधानमन्त्री ज्युलाई यति जानकारी पक्कै भएको हुनुपर्छ की पानी जहाज ल्याउन मात्रै होइन चलाउन धेरै कठिन छ । त्यसैले पानीजहाज भन्दा पहिले पार्टी,सरकार र देशको शासन व्यवस्था राम्रोसँग चलाउन सिक्नुपर्छ ।
के यति बेला देशको राजनीतिक,सामाजिक,आर्थिक अनि अन्य विषयहरू राम्रै चलिरहेको छ त ? की टाईटेनिक डुब्दै छ भनेर ६ पटक सचेत गराएजस्तै भएको छ । प्रधानमन्त्रीकै पार्टीका अन्य नेता, सल्लाहकार,कर्मचारी वा विपक्षी नेताहरूले सम्झाउँदा सम्झाउँदै पनि प्रधानमन्त्री ज्यु कुनै विश्व रेकर्ड राख्ने तीव्र दौडमा त हुनुहुन्न ? की टाईटेनिक डुब्दै नडुब्ने जहाज हो भनेजस्तै प्रधानमन्त्री ज्यु पनि कसैका कुरा नसुनी लाइफ ज्याकेट बिनै देश दौडाई रहनुभएको त छैन ? अझ जहाज डुब्दै छ भन्ने जान्दाजान्दै कर्मचारी सङ्गीतमा मस्त भएजस्तै देश डुब्दै छ भन्ने जानेर पनि प्रधानमन्त्री ज्यु बाँसुरी र सारङ्गी बजाउनमै मस्त त हुनुहुन्न ? सम्बृद्धिको यात्रामा निस्कनुभएका हाम्रा प्रधानमन्त्रीले यो समयमा ज्याला मजदुरी गर्ने मजदुर,असहाय,बालबालिका,असक्त र मिुखालाई मध्यरातमा कुनै दुर्घटनामा त पार्नुहुन्न नि ?
चीनबाट सुरु भएको कोरोना(ऋइख्क्ष्म्(ज्ञढ) नामक भाइरसले विश्वका १ लाख २० हजार भन्दा बढीको ज्यान लिइसक्यो । देश बाहिर रहेका १२ जना नेपाली समेत हामीले गुमाइसक्यौँ । तीन साताको लकडाउन सकाउँदै गर्दा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । यस्तो अवस्थामा एकातिर रोगको डर अर्कोतिर जीवन जिउन नसक्ने दुःखद अवस्था हाम्रा अगाडी नै देखिरहेका छौँ । अर्थात् जहाज डुब्दै छ भन्ने सङ्केत मिली सकेको छ यस्तो बेला प्रधानमन्त्रीज्युले केही बोल्नुपर्ने होइन र ? कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ थपिँदै जानु, भारतीय सीमा नाकाबाट अझै पनि मानिसको आवतजावत पूर्ण रूपमा नरोकिनु,अस्पतालहरूमा बिरामीको पर्याप्त जाँच नगरिनु, दैनिक ज्याला मजदुरी गरेर जीवन धानिरहेका परिवारलाई सरकार वा उसका संयन्त्रले भरोसायोग्य बचन दिन नसक्नुले कतै हामी पनि टाईटेनिक जहाजकै यात्रु त भइरहेका छैनौँ ? यति बेला चुनावताका गरिएका बाचा पुरा गर्नुस् भनेर कसैले भनिरहेका छैनन् ।
सरकार ढलाउँछौँ भनेर कसैले भनिरहेको छैन,खरिदमा के के गर्यौ पनि भनिएको छैन । नागरिकले कम्तीमा ज्यान बचाइदेऊ मात्रै भनिरहेका छन् प्रधानमन्त्री ज्यु । हिजो चुनावी सभामा भनेको जस्तो रेल,तेल,पाइपमा ग्याँस चाहियो भनेर कसैले भनेको छैनन् । कम्तीमा मास्क,सेनिटाईजर,हस्पिटलमा पर्याप्त मेडिकल सामग्री, अनि बाँच्नका लागि प्राण धान्ने सम्मको खानेकुरा यति त हो जनताले मागेको ।
प्रधानमन्त्री ज्यु तपाईँले आव्हान गरेपछि लकडाउन पूर्ण पालना भएकै छ । खानुपर्नेले नखाएर,जानुपर्ने ठाउँमा नगएर, भन्नुपर्ने कति कुरा नभनेर पनि लकडाउन पालना भएकै छ । तर, लकडाउन मात्रै पनि त समस्याको हल होइन होला । यदि विश्वलाई अत्याईरहेको कोरोनाले दुःखी गरिब भनेर हामीलाई केही ठुलो क्षति पुर्याएन भने पनि त त्यसपछि पनि हामी बाँच्नु त पर्छ होला । की टाईटेनिक जहाजको जस्तो सबै जना हराउने वा देशै डुब्न दिने त पक्कै होइन होला । लौन प्रधानमन्त्री ज्यु तपाईँको सल्लाहकार मार्फत बोल्यो भने बाटोमै डिलिट हुने डर नबोल्दा बाँसुरी र सारङ्गीको आवाज छिचोलेर तपाईँको कानमा पुग्ला नपुग्ला भन्ने डर । यो टाईटेनिक जहाजको यात्रुजस्तै डरै डरमा बाँचिरहेका हामीलाई छिटो भन्दा छिटो उद्धार गरी ज्यान बचाई दिनुहोला ।
प्रतिक्रिया दिनुहोस्