प्रकृतिबाट उत्पत्ति भएको एक अदृश्य जीवाणुले संसारको सबै असम्भव मानिएका कुरा माथि विजयध्वजा फहराइरहेको आजको प्रविधिको दुनियाँलाई चुनौती दिइरहेको कुरा स्पष्ट छ ।

यस्तो घातक भाइरस संसारमा पहिलो पटक देखिएको भने होइन तर यसको उपचार पत्ता नलाग्नु चाहिँ विज्ञान माथि प्रकृतिले बोलेको धावा हो भन्दा फरक नपर्ला ।

कोरोनाकै कारण लक डाउनमा बसिरहँदा मेरो मानसपटलमा सलबलाएका केही भावहरूलाई शब्दहरूमा उतार्ने चेष्टा गरेको छु । समय मिले पढेर प्रतिक्रिया अवश्य दिनुहोला ।

मानव जीवनकै शत्रुको रूपमा रहेको कोरोनाबाट जोगिन र समाजलाई जोगाउनु पहिलो मानव कर्तव्य हो । यस्तो सङ्कटको घडीमा हरेक व्यक्ति , संस्था , राज्य आ आफ्नो ठाउँबाट जिम्मेवार बन्नु पर्दछ ।


यसै अनुरूप सरकारले भाइरस फैलिन नदिन लक डाउन अर्थात् डाक्टरी भाषामा हेल्थ कस्टडि घोषणा गरेको छ । तर नेपाली समाजमा आम मानिसले यसलाइ हलुका रूपमा लिएको विभिन्न सञ्चार माध्यमबाट देखिँदै आएको छ ।
एउटा उखान छ अर्ती र औषधिको स्वाद सधैँ तितै हुन्छ । तर स्वरण रहोस् तेस्ले दिने प्रतिफल अवश्य पनि आनन्ददायी नै हुन्छ ।

हाम्रो समाजमा अहिलेको लक डाउन असाध्यै तितो भएको देखिन्छ । बेलामा गरेको हेलचेक्राइले भविष्यमा ठुलो मूल्य चुकाउनु पर्ने हुन सक्छ । यसको ज्वलन्त उदाहरण इटाली हो । स्वास्थ्य क्षेत्रको दृष्टिकोणले इटाली नेपाल भन्दा दशौँ गुणा अगाडि रहेको कुरा तथ्याङ्कले बताउँछ । फेरी त्यही तथ्याङ्क हेर्ने हो भने करिब एक महिना अगि सम्म इटाली मा कोरोना सङ्क्रमित २ जना मात्र थिए ।

उक्त समयमै इटाली सरकारले पनि नेपाल जस्तै लकडाउ को घोषणा गरेको थियो । सर्वसाधारण जनताले राज्यको त्यो निर्देशनको पालना नगर्दा आज इटालीले ठुलो मूल्य चुकाउनु परिरहेको कुरा सायदै स्वरण गराउनु पर्ला ।

उक्त एक महिनाको अवधिमा ८० हजार मानिस कोरोनाको सङ्क्रमण भई जीवन मृत्यु सङ लडाइ गरी रहेका छन् । म यो लेख लेख्न बस्दा सम्म मृत्यु हुनेको सङ्ख्या पनि ६ हजार पाँच सय भन्दा माथि छ ।

यता सङ्क्रमित हरूको विभिन्न हृदयबिधारक भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भई रहेका छन् । भिडियो हेरुन्जेल हाम्रो मन छियाछिया हुन्छ एक्छ्नि पछि जस्ताको तस्तै ।

यस्तो सम्बेसनशिल समयमा पनि हामी खुलेआम हिँडिरहेका छौ । हाम्रो सुरक्षाका लागि आफ्नो परिवार भन्दा टाढा रहेका सुरक्षाकर्मीले सुरक्षा दिन खोज्दा उल्टै हामी उनीहरू माथि तितो पोख्छौ । सरकारलाई यसरी गाली गर्छौ । मानौँ भाइरस सरकारले बनाएर फैलाएको हो ।

वीर बहादुर छौ हामी नेपाली । गोर्खालीका सन्तान हौ । हामी झुक्न जानेका छैनौ भन्ने आशयका अविव्यक्ती पनि प्रशस्तै सुनिन्छन् । वीर बहादुर भन्ने शब्दको आवरण भित्र रहेर गर्व गर्दै कतै हामी आफ्नै जिवनलार्इ अवसान गराउने तर्फ त लागिरहेका छैनौ ? हरेक नागरिकले सोच्नै पर्ने भएको छ यो कुरा । युद्ध बलले भन्दा बुद्धिले जितिन्छ । कोरोना बिरुद्दको यो युद्दलाइ पनि बुद्धिले जित्ने कि ?

हाम्रो वर्तमान समाजका धेरै मान्यताहरू धर्म ग्रन्थहरूमा आधारित रहेर बनेका छन् । ती हाम्रा प्रेरणा र ज्ञानका स्रोत हुन । अहिलेको यो अवस्था र महाभारतको एक अंश ठ्याक्कै मिल्न आउँछ ।

कौरव र पाण्डवको युद्ध हुँदा कौरव तर्फबाट अजय जस्तै मानिएको नारायण अस्त्रको प्रयोग भएको थियो । नारायण अस्त्र शत्रु खोजी खोजी मार्ने र प्रकृति विनाश गर्ने क्षमता भएको अस्त्र हो उक्त अस्त्र बाट बच्ने एउटै उपाय हुन्छ । त्यो हो आत्मसमर्पण ।

पाण्डवका उपर नारायण अस्त्र प्रहार हुँदा श्रीकृष्णले पाण्डव पक्षलाई उक्त अस्त्र माथि आत्मसमर्पण गर्ने सल्लाह दिएका थिए । जसले गर्दा पाण्डवहरूले युद्धमा विजय हासिल गरे ।

यसको अर्थ अहिलेको अवस्था कोभिड १९ हाम्रो मानव समाजको लागि कौरवले प्रहार गरेको नारायण अस्त्र जस्तै बनेर आएको छ । र यसबाट बच्ने एउटै उपाय आत्मसमर्पण हो । अतः राज्यको उच्च तह बाट आएको निर्देशनालय श्रीकृष्णको सुझाव सम्झिएर पालना गरी मानव समाजको रक्षा गर्ने कि बहादुर कहलिएर यसलाई विनाश गर्न तर्फ उन्मुख गर्ने हाम्रै हातमा छ ।

यस्तो अवस्थामा सरकारको निर्देशनलाई अवलम्बन गर्नु हरेक नागरिकको कर्तव्य हो । कर्तव्य यस अर्थमा कि यस्तो सङ्कटको घडीमा मानिस आफू बच्नु र अरुलार्इ बचाउनु मानव धर्म हो । धर्म केवल धर्म मात्र हैन जीवन जिउने पद्धति पनि हो ।

रविन्द्र रेग्मी, खोटाङ

१४ चैत्र २०७६, रातको ११:२६ (कलम विसर्जन)