पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आग्रह गरेअनुसार गरेको हो : गच्छदार

आफूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा मुद्दा दर्ता गरेको छ दिनपछि सोमबार नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा उपसभापति विजयकुमार गच्छदार करिब दुई घण्टा बोले।
उनले मुद्दा दर्ता हुने सुइँको पाएपछि राष्ट्रपति, प्रधानमन्त्री, पार्टी सभापति शेरबहादुर देउवा, सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरे पनि आखिरमा मुद्दा दर्ता गरिएको गुनासो गरे।
आफूमाथि अख्तियारले राजनीतिक प्रतिशोध साँधेर मुद्दा लगाएको र यो कांग्रेसमाथिको आक्रमण भएको पनि गच्छदारले बताएका थिए।
मुद्दा दर्तापछि आफ्नो पक्षमा पार्टीले सदन अवरूद्ध र सडकमा आन्दोलन गरेकोमा धन्यवाद पनि दिए।
बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिका नाममा सारिएको प्रकरणमा दोषी रहेको भन्दै गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
सोमबारको केन्द्रीय समिति बैठक गच्छदारकै कुरा सुनेर सकिएको थियो। गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पटकपटक आग्रह गरेअनुसार आफूले बालुवाटार बाटो फराकिलो र व्यवस्थित गर्न प्रस्ताव लगेको केन्द्रीय समिति बैठकमा बताएका हुन्।
‘सरकारी जग्गा व्यक्तिका नाममा सार्न मोही खडा गर्ने, लालपूर्जासमेत बनाउन चलखेल गर्ने काम मैले गरेको होइन। ममाथि कांग्रेस भएकै आधारमा राजनीतिक प्रतिशोधले झूटा मुद्दा लगाइएको हो, मलाई फसाइएको छ, म दोषी होइन,’ गच्छदारले बैठकमा राखेका कुरा उद्धृत गर्दै एक केन्द्रीय समिति सदस्यले सेतोपाटीसँग भने।
यसपछि गच्छदारले आफूमाथि मुद्दा लागेपछि उच्च राजनीतिक भेटघाट गरे पनि काम नलागेको बताए।
‘प्रधानमन्त्रीजीसँग ४५ मिनेट कुराकानी गरें। उहाँले केही बोल्नुभएन मेरा कुरा सुनिरहनुभयो। पछि मुद्दा दर्ता गरेपछि लाग्यो- कतै योजनावद्ध भएर उहाँ केही नबोल्नु पो भएको हो कि,’ गच्छदारले भनेका थिए।
प्रधानमन्त्रीले कुनै जवाफ नदिएपछि उनी सभापति देउवा भेट्न पुगेको बताएका थिए।
‘सभापतिजीले फोन गरे पनि प्रधानमन्त्रीले केही भन्नुभएन। राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाउन पाइन्न अहिले रोक्नुस् भनेर सभापतिजीले त भन्नुभएकै हो,’ गच्छदारले केन्द्रीय समितिमा छ दिन अघिका कुरा सुनाए।
गच्छदारले आफूमाथि भेदभावपूर्ण ढंगले मुद्दा लागे पनि आफ्नो राजनीति नसकिने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्