नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानलाई नेपालले २५० रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए।
ओपनिङमा आएका कप्तान ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साँझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर सुवास २२ रनमा आउट भए।
लगतै ब्याटिङ गर्न आएका पारस खड्कासँग मिलेर कप्तान ज्ञानेन्द्र ५९ रनको साँझेदारी गर्दै नेपालको स्कोर १०७ सम्म पुर्याए। तर पारस २३.१ ओभरमा मोहम्मद नदिमको बलमा ३८ रन बनाएर आउट भए।
त्यस्तै, नेपालका लागि विनोद भण्डारीले ३५ रन बनाए। आरिफ शेख र कुशल मल्लले समान २८–२८ रन बनाए। कुशलले २४ बलमा २ छक्का र २ चौका प्र्रहार गर्दै २८ रन बनाएका थिए। करण केसीले १० रन जोडे।
सन्दीप लामिछाने १० र कमलसिंह ऐरी ९ रनमा अविजित रहे।
ओमानका लागि अकिब लियासले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३६ रन खर्चिए। त्यस्तै, मोहम्मद नदिमले ३ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्