नेपालका  लेगस्पिनर सन्दीप लामिछाने टी-२० क्रिकेटमा सय विकेट नजिक पुगेका छन्।

सन्दीपले शनिबार अस्ट्रेलियाको बिग ब्यास लिगमा मेलवर्नका लागि १ विकेट लिएसँगै आइसिसीको टी-२० मान्यता प्राप्त खेलमा विकेट संख्या ९९ पुर्‍याएका छन्।

सन्दीपले शनिबार ब्रिसबेन हिटविरुद्धको खेलमा विकेट लिएका हुन्। उनले खेलमा ब्रिसबेनका कप्तान क्रिस लिनलाई ३४ रनमा आउट गरे।

खेलमा घातक बलिङ गरेका उनले ४ ओभरमा १६ रन दिए भने कुनै बाउन्ड्री दिएनन्। उनले खेलमा ९ बल डट फ्याँकेका थिए।

सन्दीपले दुई वर्षको अवधिमा टी-२० क्रिकेटमा ७४ खेलमा ९९ विकेट लिएका हुन्। सन्दीपले टी-२० मा १५८५ बल फ्याँक्दा १८५७ रन दिएका छन्।

यस्तै टी-२० मा उत्कृष्ट प्रदर्शन ४ विकेट लिएर १० रन दिनु हो। टी-२० मा सन्दीपको औषत १८.७५  र इकोनोमी ७.०२ रहेको छ।

सन्दीपले २०१८ मे १२ मा आइपिएल क्रिकेटअन्तर्गत दिल्ली डेयरडेभिल्सबाट खेल्दै टी-२० क्रिकेटमा डेब्यू गरेका थिए। उनले रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध टी-२० मा डेब्यू गरेका थिए। सो खेलमा उनले ४ ओभर बलिङ गरेर १ विकेट लिँदा २५ रन खर्चिएका थिए।

सन्दीपले टी-२० को पहिलो विकेट पार्थिव पटेललाई एलबिडब्लूको धरापमा पारेर लिएका थिए।

सन्दीपले आइपिएल खेलेपछि क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग र अफगानिस्तान प्रिमियर लिगबाट टी-२० क्रिकेट खेले।

सन्दीपले सय विकेटको कोशेढुंगा जनावरी ३१ पार गर्न सक्नेछन्। सो खेलमा मेलवर्नले बिग ब्यासअन्तर्गत अंक तालिकाको दोस्रो टिमसँग क्वालिफायर खेल्नेछ।

नेपालले फेब्रुअरी ५ देखि आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानविरुद्ध त्रिकोणात्मक सिरिज खेल्दैछ। सो खेलका लागि सन्दीप बिग ब्यासको क्वालिफायर छाडेर नेपाल फर्कने सम्भावना पनि छ।

कसैले गरी सन्दीपले क्वालिफायर खेले पनि बिग ब्यासका बाँकी खेल भने गुमाउने पक्का छ।