कालंगा हाइड्रो लिमिटेड आईपीओ खुल्यो, कति कित्ता भर्ने?
काठमाडौँ- कालंगा हाइड्रो लिमिटेडले आज (जेठ ८ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै बिक्री भइसकेको छ। यसबाहेक १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरिसकिएको छ।
बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले जान्नैपर्ने विवरणहरू:
न्यूनतम आवेदन: १० कित्ता
अधिकतम आवेदन: २०,००० कित्ता
निष्काशन बन्द हुने मिति: छिटोमा जेठ १३ गते (माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ २२ गतेसम्म)
बिक्री प्रबन्धक: सिभिल क्यापिटल मार्केट लिमिटेड
कम्पनीको रेटिङ:
केयर रेटिङ नेपालले यस आईपीओलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर (Mero Share) सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया दिनुहोस्