काठमाडौैँ- सरकारले वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज (मंगलबार) को मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले दुवै सदनको बैठक वैशाख २८ गते दिउँसो २ बजेका लागि आह्वान सिफारिस गर्ने निर्णय गरेको बताए।

सोहीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पनि दुवै सदनका अधिवेशन आह्वान गरेका छन्।

यसअघि वैशाख १७ गतेका लागि आह्वान गरिएको बैठकको विशेष कारण भन्दै स्थगित गरिएको थियो। त्यसपछि सरकारले आठवटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सबै अध्यादेश जारी भइसकेका छन्।

जारी भएका अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी संशोधन अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश र सहकारी (पहिलो संशोधन) अध्यादेश रहेका छन्।