हिमालय पावरको हकप्रद शेयर निष्काशन
काठमाडौँ- हिमालयन पावर पार्टनर लिमिटेडले आज बैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।
यसको अर्थ कम्पनीले साविकका शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ताको अनुपातमा हकप्रद शेयर उपलब्ध गराउन लागेको हो।
कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गर्नेछ। यस प्रयोजनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरिसकेको हुनाले चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र यसमा आवेदन दिन योग्य ठहरिनेछन्।
इच्छुक लगानीकर्ताले जेठ ६ गतेसम्म यस हकप्रद शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। केयर रेटिङ्ग नेपालले यस निष्काशनका लागि कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ। आवेदन दिन चाहनेले बिक्री प्रबन्धकको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखाबाट आवेदन दिन सक्नेछन्। यसका अतिरिक्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर अनलाइनमार्फत पनि सहजै आवेदन दिन सकिनेछ।




प्रतिक्रिया दिनुहोस्