काठमाडौँ- एभरेष्ट कलर लिमिटेडले आज अर्थात् बैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले आफ्नो कुल ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशतले हुन आउने ७ लाख ९० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याएको हो। यस निष्काशनमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बैशाख २२ गतेसम्म यस आईपीओमा आवेदन दिन सक्नेछन् भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा निष्काशन प्रक्रिया बैशाख ३० गतेसम्म जारी रहनेछ। मुक्तिनाथ क्यापिटल लिमिटेड यस शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा रहेको छ। इच्छुक आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो शेयर’ अनलाईन मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी सहजै आवेदन दिन सक्नेछन्। केयर रेटिङ्गस् नेपालले यस कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।