याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो
काठमाडौँ- याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि प्रक्रिया अगाडि बढाएको हो।
कम्पनीले कुल जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये आयोजना प्रभावितका लागि ७ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि २ लाख १० हजार कित्ता शेयर यसअघि नै वितरण भइसकेको छ। साथै सामूहिक लगानी कोषलाई १ लाख ५ हजार कित्ता र कर्मचारीलाई ४२ हजार कित्ता शेयर छुट्याएर बाँडफाँट गरिसकिएको छ। बाँकी रहेको १७ लाख ४३ हजार कित्ता साधारण शेयरका लागि अब सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो निष्काशन छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते बन्द हुने कम्पनीले जनाएको छ। केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया दिनुहोस्