काठमाडौँ- स्नो रिभर्स लिमिटेडले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गरेको हो।

कुल ९३ करोड ७५ लाख रुपैयाँ जारी पूँजी रहेको यस कम्पनीले आफ्नो पूँजीको २० प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये ९ लाख ३७ हजार ५०० कित्ता स्थानीयका लागि, ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता कर्मचारीहरूका लागि यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ। बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर अब प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।

यस निष्कासनमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा जेठ १ गते बन्द हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिने म्याद रहनेछ।