• महेन्द्रप्रकाश सिवाकोटी

पृष्ठभूमि

नेपाल कम्युनिष्ट पार्टीको स्थापना वि. सं. २००६ सालमा भएको थियो । जहानियाँ राणा शासन र नेपालमा निरङ्कुशताका कारण आम नेपाली जनताले स्वतन्त्रतापूर्वक बोल्ने–लेख्ने अवस्था समेत थिएन । अन्याय–अत्याचारका विरूद्ध हाम्रा अग्रजहरूले गरेका योगदान अतुलनीय छन् । आज नेपाल कम्युनिष्ट पार्टी एमालेले हीरक जयन्ती समेत मनाइसकेको छ । सो पार्टी आम नेपाली जनतामा चिरपरिचित नै छ । तर पनि नेपाल कम्युनिष्ट पार्टी एमालेले २०८२ फागुन २१ गते सम्पन्न आम निर्वाचनमा ठूलो पराजय भोग्नु पर्‍यो । हीरक जयन्ती मनाएको पार्टीका नेताहरू कस्तो हुनुपर्थ्यो ? कार्यकर्ताहरू कस्तो हुनुपर्थ्यो ? अनि देश व्यापीरूपमा पार्टीका कामकारवाहीहरू जनतासमक्ष कसरी प्रस्तुत गरिनुपर्थ्यो ? भन्ने कुरा आज गम्भीर भएर आत्मसमीक्षा गर्ने बेला आएको छ ।

२०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनबाट सिर्जना भएको यो आकस्मिक निर्वाचनले पार्टीलाई पुन: बाध्यभएर सोच्न र नयाँ कार्यशैलीमा प्रस्तुत हुनुपर्ने अवस्था सिर्जना गरेको छ । नेपाली जनताले ३५ वर्षसम्म भोट दिएर पार्टीलाई सत्तामा पुर्‍याएका थिए । तर आज जनताले आफ्नो मत किन र कसरी बदल्न पुगे भन्ने कुरा सहजै अनुमान गरेर मात्रै पुग्दैन । २०४८ सालदेखिका प्रत्येक दिनका घटनाक्रमका फाइलहरू पल्टाउनै पर्ने समय आएको छ । हरेक गतिविधिहरूको समीक्षा गर्नैपर्छ । अनि समीक्षाबाट आएका एक–एक कार्यको विवरण जनसमक्ष राख्नैपर्छ । सत्तामा पुगेर देश र जनतालाई धोका दिन पाइँदैन । राजनीति सेवा हो जागिर होइन भन्ने कुराको हेक्का राख्नैपर्छ ।

आम निर्वाचन २०८२ लाई केलाएर हेर्दा पार्टीका कार्यकर्ताहरू राम्रोसँग प्रशिक्षित भएको पाइएन । पार्टीका स्थानीय वडा कमिटीदेखि क्षेत्र, पालिका, जिल्ला र प्रदेश कमिटीहरूले उम्मेदवार जिताउने किसिमले स्थानीय तहमा राम्रोसँग काम गरेको देखिएन । नेता बन्नकै लागि र आफ्नो स्वार्थसिद्ध पूरा गर्नकै लागि राजनीति गरेको देखियो । पार्टीमा कम्युनिष्ट नैतिकता र अनुशासन देखिएन । सिद्धान्तविहिन राजनीतिक गतिविधिलाई जनताले अस्वीकार गरेको देखियो । पार्टीका कार्यकर्ताहरू उम्मेदवारको खाजा–पानी, खाना आदि सबैथोक खाने, अनि उम्मेदवारसँगै हिड्ने तर भोट अर्कै पार्टीलाई हाल्ने अवस्था समेत देखियो ।

पार्टीले व्यवस्था गरेका गाडीहरू चढेर मतदान स्थलसम्म पुग्ने तर भोट अर्कै पार्टीलाई हाल्ने परिस्थितिको समीक्षा गर्न त्यति सजिलो छैन । चुनावजस्तो संवेदनशील घडीमा नेता र नेतृत्वले कस्तो अवस्थामा के बोल्ने र के नबोल्ने भन्ने समेत हेक्का नभएको पाइयो । नेता र नेतृत्वले जनतासमक्ष घरदैलो कार्यक्रममा जाँदा विनम्र भएर आफ्ना कुरा राखेर भोट माग्न समेत ख्याल नगरेको पाइयो । चुनाव जित्ने रणनीति नबनाई छताछुल्लसँग बोलेर हिड्ने, कसैले कसैलाई नटेर्ने, जनताले सोधेका प्रश्नका उत्तरहरू राम्रोसँग दिन नसक्नु, आफूबाहेक अरूलाई मतलव नै नराख्ने प्रवृत्ति तथा गतिविधिहरूले गर्दा पनि हामीलाई पराजयको अवस्थामा पुर्‍याएको छ । बदलिदो परिस्थितिलाई आत्मसात नगरी हामी सुधारोन्मुख हुन सकेनौं भने अझै ठूला–ठूला चुनौति थपिदै जानेछन् । हामीले यथार्थरूपमा ३५ वर्षको समीक्षा गरेर देश विकासको खाका र जनताको दैनिक जीवनयापनमा आउने कठिनाइहरूमा आमजनतालाई साथ दिन सकेनौं भने आगामी दिनमा जनसमर्थन पाउन गाह्रो हुनेछ । जनताको बहुदलीय जनवाद हाम्रो प्रमुख मार्ग हो । यो मार्गमा हामीले अक्षरश: पालना गरी अगाडि बढ्नु नितान्त आवश्यक छ ।

जेनजी आन्दोलनपछि नेकपा एमालेका हारका कारणहरू

नेपालको समकालीन राजनीतिमा जेनजी पुस्ताको उदयले शक्ति सन्तुलनलाई नयाँ दिशातर्फ धकेलेको छ । २०७९ को स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि नेकपा एमालेसहित परम्परागत दलहरूले भोगेका चुनौतीहरू केवल चुनावी परिणामको असर मात्र होइनन्, बरू सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त परिणाम हुन् । नयाँ पुस्ताले विचारधारा, इतिहास वा पार्टीप्रतिको बफादारिताभन्दा फरक नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन थालेको छ । यस सन्दर्भमा, एमालेको विगतको लोकप्रियता र वर्तमानको चुनौतीबीचको अन्तरलाई बुझ्न यी कारणहरूको विश्लेषण आवश्यक हुन्छ ।

एमाले र युवा आकर्षणको इतिहास

ऐतिहासिक रूपमा, नेकपा एमाले नेपालका युवाहरूका लागि सबैभन्दा आकर्षक पार्टी मानिन्थ्यो । मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज), आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रम र २०७२ को नाकाबन्दीका बेला केपी शर्मा ओलीले लिएको राष्ट्रवादी अडानका कारण एमालेप्रति युवाहरूको ठुलो झुकाव थियो । तर, २०७४ पछि राजनीतिक घटनाक्रम परिवर्तन भए ।

एमालेको हार वा सिट घट्नुका मुख्य कारणहरू

१. नयाँ विकल्पहरूको उदय

राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङ जस्ता नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूको उदयले परम्परागत राजनीतिक संरचनामै चुनौती खडा गर्‍यो । जेनजी पुस्ताले विचारधारात्मक बहसभन्दा कामको नतिजा र सेवाको गुणस्तरलाई आधार बनाए । पुराना दलहरूले लामो समय शासन गर्दा पनि दैनिक सेवामा सुधार नदेखिँदा “अर्को विकल्प किन नछान्ने ?” भन्ने सोच विकसित भयो । नयाँ दलहरूले भ्रष्टाचार विरोध, पारदर्शिता र प्रत्यक्ष कामको प्रतिबद्धता देखाउँदा युवाहरू त्यतातर्फ मोडिए । यसले एमालेको परम्परागत युवा मताधारलाई उनीहरूतिरै मोड्यो ।

२. संसद् विघटन र राजनीतिक अस्थिरता

केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनले संवैधानिक स्थिरतामाथि प्रश्न उठायो । जेनजी पुस्ताले यसलाई शक्ति संघर्ष र राजनीतिक स्वार्थको रूपमा व्याख्या गर्‍यो । बहुमतसहित सरकार बनाएको पार्टीले नै अस्थिरता निम्त्यायो भन्ने धारणा बलियो बन्यो । साथै, नेकपा एकीकृत समाजवादी गठनसँगै पार्टी विभाजन हुँदा एमालेको आन्तरिक एकता कमजोर देखियो । यसले “स्थिरता दिन सक्छ” भन्ने विश्वासमा चोट पुर्‍यायो । यही स्थिति कायम रहेमा दलहरू मिलिजुली सत्ता उपभोग गर्नेतिर मात्र सीमित रहन्छन् भन्ने डर विकसित भयो ।

३. एजेन्डा र सञ्चारको शैलीमा दूरी

एमाले नेतृत्वको भाषा, शैली र प्रस्तुति पुरानो राजनीतिक संस्कारमा आधारित देखियो । उखान, व्यग्ङ्य र आक्रामक भाषण पुरानो पुस्ताका लागि प्रभावकारी भए पनि जेनजीका लागि अप्रासंगिक र कहिलेकाहीँ अहंकारी लागे । नयाँ पुस्ताले जलवायु परिवर्तन, प्रविधि, नवप्रवर्तन, रोजगारी र आर्थिक अवसर जस्ता विषयमा स्पष्ट नीति खोज्छ । तर जब दलहरूले पुराना आन्दोलन र इतिहासलाई केन्द्रमा राख्छन्, वर्तमानका मुद्दा ओझेलमा पर्छन् । यसले सन्देश र अपेक्षाबीच दूरी बढायो ।

४. सामाजिक सञ्जाल र डिजिटल क्रान्ति

जेनजी पुस्ता सामाजिक सञ्जालमै सक्रिय र प्रभावशाली छ । उनीहरू स्वयं सामग्री सिर्जना गर्छन्, बहस चलाउँछन् र धारणा निर्माण गर्छन् । एमालेसँग संगठित अनलाइन संरचना भए पनि, स्वत:स्फूर्त आलोचना र जनमतको लहर नियन्त्रण गर्न सकेन । परम्परागत कार्यकर्ता परिचालनभन्दा सामाजिक सञ्जालको कथानक बलियो बन्यो । यसले एमालेलाई रक्षात्मक अवस्थामा राख्यो । यसले सही सूचना प्रवाहित गर्न सकेन । साईवर सेना र अरिंगालको गोलो भन्ने उपमा मात्र पायो । डिजिटल क्षेत्रमा विश्वसनीयता कायम राख्न खुलापन र संवाद आवश्यक हुन्छ, जुन पर्याप्त देखिएन ।

५. डेलिभरी र सुशासनको अभाव

ठूला पूर्वाधार योजनाहरू प्रचारमा आए पनि, नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या ज्यूँका त्यूँ रहे । ड्राइभिङ्ग लाइसेन्स लिन वर्षैसम्म पर्खनुपर्ने, राहदानीमा ढिलाइ, स्वास्थ्य र शिक्षामा सेवा अभाव, र रोजगारीको कमी जस्ता विषयले प्रत्यक्ष असर पार्छ । जेनजी पुस्ताले यिनै अनुभवका आधारमा सरकारको मूल्याङ्कन गर्छ । पटक–पटक एमाले सत्तामा आए पनि यी समस्या समाधान नभएपछि, असन्तोष सीधै उसैतर्फ केन्द्रित भयो । “कामको नतिजा कहाँ छ ?” भन्ने प्रश्न बलियो बन्यो । भन्न थालियो, वाचा ठूलो–ठूलो गर्ने पूरा कुनै नगर्ने ।

६. पपुलिज्म र कार्यसम्पादनबीचको खाडल

राष्ट्रवाद, ठूला परियोजना र भविष्यका महत्वाकाङ्क्षी योजनाले प्रारम्भिक आकर्षण त सिर्जना गरे । तर जब ती योजनाहरू व्यवहारमा देखिएन्, विश्वास घट्न थाल्यो । जेनजी पुस्ता घोषणाभन्दा नतिजामा विश्वास गर्छ । दैनिक जीवनमा सुधार नआउँदा ठूला सपना अविश्वसनीय लाग्न थाले । यसले भाषण र व्यवहारबीचको अन्तर उजागर गर्‍यो ।

७. पार्टी निष्ठाभन्दा मुद्दा आधारित राजनीति

जेनजी पुस्ताले पार्टीको इतिहास वा झण्डाभन्दा मुद्दालाई प्राथमिकता दिन्छ । भ्रष्टाचार नियन्त्रण, वातावरण संरक्षण, लैङ्गिक समानता, शिक्षामा सुधार जस्ता विषयमा स्पष्ट धारणा खोजिन्छ । एमालेले यी विषयमा ठोस र आधुनिक नीति प्रस्तुत गर्न नसकेको धारणा बन्यो । परिणामस्वरूप, मतदाताले पार्टीभन्दा मुद्दा हेरेर विकल्प रोज्न थाले । कार्यकर्ताहरूलाई कहिले सूर्यलाई छोडेर रूख त कहिले हलो वा अन्य दलका चिन्हमा मत दिन बाध्य बनाउने गरियो, यसले कार्यकतालाई आहत तुल्याएको छ । हालैको निर्वाचनमा एउटा नारा चलेको थियो, एमाले छोडिदैन, भोट पनि दिइँदैन । यो नाराले एमालेको मर्ममा हिर्कायो ।

८. नेतृत्वमा केन्द्रीकृत शक्ति

पार्टीभित्र शक्ति केही व्यक्तिमा केन्द्रित देखिनु जेनजीका लागि चिन्ताको विषय बन्यो । केपी शर्मा ओलीको प्रभाव अत्यधिक देखिँदा अन्य नेताहरूको भूमिका सीमित भएको अनुभूति भयो । नयाँ पुस्ता खुला बहस, सहभागिता र पारदर्शी निर्णय प्रक्रिया चाहन्छ । जब निर्णय माथिबाट मात्र आउँछ, त्यो बन्द संरचना जस्तो देखिन्छ । यसले लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठायो ।

९. पार्टीमा युवा नेताहरू छायामा पर्नु

नेपाल कम्युनिष्ट पार्टी एमालेमा युवा नेताहरूको भूमिका कमजोर देखिँदा पार्टीभित्र वैकल्पिक आवाज दबिएको सन्देश गयो । जेनजी पुस्ता बहस, आलोचना र नयाँ सोचको कदर गर्छ । तर जब युवा वा बौद्धिक नेतृत्व अगाडि आउन सक्दैन, पार्टी स्थिर र बन्द जस्तो देखिन्छ । यसले नयाँ पुस्तालाई टाढा बनायो ।

१०. बौद्धिक घमण्ड र आलोचनाको अस्वीकार

नेतृत्व र कार्यकर्तामा “हामी नै सही” भन्ने प्रवृत्ति देखिँदा आलोचनाप्रति असहिष्णुता बढ्यो । सामाजिक सञ्जालमा आएका प्रश्न वा आलोचनालाई संवादमार्फत सम्बोधन गर्नुको सट्टा आक्रामक प्रतिक्रिया दिने प्रवृत्ति देखियो । यसले तटस्थ मतदातालाई नकारात्मक सन्देश दियो । जेनजी पुस्ता खुला बहस र आत्मालोचनालाई मूल्य दिन्छ । जब पार्टीले आलोचना स्वीकार्दैन, त्यो बन्द मानसिकता जस्तो देखिन्छ ।

११. ‘नो नट अगेन’ अभियानको प्रभाव

चुनावको समयमा चलेको ‘नो नट अगेन’, अभियानले परम्परागत नेतृत्वविरूद्ध असन्तोषलाई एकीकृत गर्‍यो । यो अभियान मुख्यत: सामाजिक सञ्जालमार्फत फैलियो र जेनजी पुस्ताले सक्रिय रूपमा समर्थन गर्‍यो । एमालेसहित पुराना दलका शीर्ष नेताहरू यस अभियानको निशानामा परे । परिणामस्वरूप, स्थापित उम्मेदवारहरूको छवि कमजोर बन्यो र नयाँ विकल्पलाई फाइदा पुग्यो ।

१२. शैक्षिक संस्थामा सिन्डिकेट र भ्रातृ संगठन

अनेरास्ववियु जस्ता विद्यार्थी संगठनहरूको क्याम्पस राजनीति जेनजीका लागि विवादास्पद बन्यो । तालाबन्दी, आन्दोलन र दलीय हस्तक्षेपले शैक्षिक वातावरणमा नकारात्मक असर पार्‍यो भन्ने धारणा बन्यो । नयाँ पुस्ता गुणस्तरीय शिक्षा, अनुसन्धान र सीप विकासमा केन्द्रित हुन चाहन्छ । तर क्याम्पसमा राजनीतिक हस्तक्षेप बढ्दा उनीहरूले त्यसलाई आफ्नो भविष्यमा बाधा ठाने । यसले एमालेप्रति उनीहरूको धारणा थप नकारात्मक बनायो ।

१३. डिजिटल साक्षरता र तथ्य जाँच

जेनजी पुस्ता डिजिटल माध्यममा हुर्किएको पुस्ता हो । उनीहरू सामाजिक सञ्जाल, अनलाइन समाचार र विभिन्न स्रोतबाट सूचना सङ्कलन गरेर तुरून्तै तथ्य जाँच गर्न सक्छन् । यस्तो अवस्थामा राजनीतिक दलले प्रयोग गर्ने तथ्य, तथ्याङ्क वा दाबीहरू पहिलाजस्तो सजिलै स्वीकारिँदैनन् । एमालेका कतिपय नेताहरूका अभिव्यक्ति वा दाबीहरू सार्वजनिक भएपछि तुरून्तै सामाजिक सञ्जालमा परीक्षण र विश्लेषण हुने गर्छ । यदि ती दाबीहरू असंगत वा अतिरञ्जित देखिए भने, जेनजी पुस्ताले त्यसलाई व्यङ्ग्य, मजाक वा आलोचनाको रूपमा प्रस्तुत गर्छ । यसरी भ्रामक र अतिरञ्जित गर्ने संस्कृतिले पार्टीको गम्भीर छविलाई कमजोर बनाउने काम गरेको छ । परम्परागत प्रचार शैलीभन्दा फरक, डिजिटल युगमा विश्वास कायम राख्न निरन्तर सत्य, स्पष्टता र प्रमाणमा आधारित सञ्चार आवश्यक हुन्छ, जुन क्षेत्रमा एमाले कमजोर देखियो ।

१४. रोजगारी र मस्तिष्क पलायनप्रति संवेदनहीनता

नेपालबाट दैनिक ठूलो सङ्ख्यामा युवाहरू रोजगारीको खोजीमा विदेशिनु अहिलेको प्रमुख सामाजिक र आर्थिक समस्या हो । जेनजी पुस्ताका लागि यो केवल तथ्याङ्क होइन, आफ्नै जीवनसँग जोडिएको यथार्थ हो । परिवार, साथी र आफन्त विदेश गइरहेको अवस्था देख्दा उनीहरू राज्य र राजनीतिक दलसँग समाधानको अपेक्षा गर्छन् । तर एमालेले सत्तामा रहँदा यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने स्पष्ट योजना प्रस्तुत गर्न सकेन भन्ने धारणा बनेको छ । “नेपालमै अवसर छ” भन्ने सामान्य अभिव्यक्तिले युवाहरूको वास्तविक समस्या समाधान गर्दैन । उनीहरू ठोस रोजगारी सिर्जना, सीप विकास, उद्यम प्रवर्द्धन र आर्थिक अवसर विस्तार जस्ता व्यावहारिक कदम खोजिरहेका छन् । जब यस्तो स्पष्ट मार्गचित्र देखिँदैन, तब निराशा र आक्रोश बढ्छ । यही कारणले मस्तिष्क पलायनको विषयमा एमालेप्रति आलोचना तीव्र भएको देखिन्छ ।

१५. एमसीसी र एसपीपीमा दोहोरो चरित्र (विस्तार)

एमसीसी जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूमा एमालेको धारणा समय अनुसार बदलिँदा जेनजी पुस्तामा भ्रम उत्पन्न भयो । सत्तामा हुँदा समर्थन गर्ने र प्रतिपक्षमा हुँदा विरोध गर्ने जस्ता व्यवहारले नीति स्थिरतामाथि प्रश्न उठायो । जेनजी पुस्ता स्पष्टता र निरन्तरतामा विश्वास गर्छ । उनीहरूका लागि कुनै पनि राष्ट्रिय मुद्दामा दलको स्थिर र सुसंगत धारणा हुनु आवश्यक हुन्छ । जब एउटै विषयमा फरक समयमा फरक अभिव्यक्ति आउँछ, तब “सबै दल उस्तै हुन्” भन्ने निष्कर्ष बलियो बन्छ । यसले एमालेको विश्वसनीयता मात्र होइन, उसले दाबी गर्ने राष्ट्रहित र वैदेशिक नीतिको स्थिरतामाथि पनि असर पार्‍यो ।

१६. काठमाडौं केन्द्रित राजनीति र बालेन फ्याक्टर

एमालेले काठमाडौंलाई आफ्नो गढ मान्दै आएको थियो; यो भ्रम पनि अहिले टुटेको छ । तर बालेन शाहको उदयले एमालेको साङ्गठनिक भोटलाई तितरबितर पारिदियो । बालेनले प्रयोग गरेको आधुनिक शैली र एमालेको परम्परागत शैलीबीचको तुलनामा युवाहरूले बालेनलाई रोजे ।

१७. लिगेसीको अन्त्य

२०४६ सालको जनआन्दोलनबाट प्राप्त ऐतिहासिक उपलब्धिहरू एमालेका लागि राजनीतिक पूँजीका रूपमा प्रयोग हुँदै आएका छन् । तर जेनजी पुस्ताले यस्ता उपलब्धिलाई केवल इतिहासका रूपमा मात्र हेर्ने गरेको देखिन्छ । उनीहरूका लागि विगतको योगदानभन्दा वर्तमानको काम र भविष्यको स्पष्ट योजना बढी महत्वपूर्ण हुन्छ । रोजगारी, उद्यमशीलता, प्रविधि विकास, गुणस्तरीय शिक्षा र जीवनस्तर सुधार जस्ता विषयमा ठोस दृष्टिकोण नदेखिँदा पार्टीप्रति उनीहरूको आकर्षण घटेको छ । बारम्बार पुराना उपलब्धिको जश लिन खोज्दा नयाँ पुस्तामा “अब के ?” भन्ने प्रश्न झन् बलियो बनेको देखिन्छ ।

१८. भ्रष्टाचारका काण्डहरूमा मौनता वा बचाऊ

ओम्नी, यती र गिरीबन्धु जस्ता चर्चित प्रकरणहरूले राजनीतिक नेतृत्वप्रतिको विश्वासमा गम्भीर असर पारेका छन् । जेनजी पुस्ता सूचना र तथ्यमा छिटो पहुँच राख्ने भएकाले यस्ता विषयमा उनीहरूले स्वतन्त्र रूपमा मूल्याङ्कन गर्ने क्षमता राख्छन् । यस्तो अवस्थामा स्पष्ट छानबिन, पारदर्शिता र दोषीमाथि कडा कारबाही अपेक्षित हुन्छ । तर नेतृत्वले मौनता अपनाउँदा वा बचाउमा उत्रिँदा “दोषीलाई जोगाइन्छ” भन्ने सन्देश फैलिन्छ । यसले सुशासनको दाबीलाई कमजोर बनाउँछ । जेनजीका लागि भ्रष्टाचार अस्वीकार्य विषय भएकाले सानो शङ्काले पनि विश्वास घटाउने काम गर्छ । यही कारणले पार्टीको छवि युवाहरूबीच कमजोर बन्दै गएको देखिन्छ ।

१९. महिला र सीमान्तकृतका मुद्दामा कमजोरी

जेनजी पुस्ता लैङ्गिक समानता, समावेशिता र समान अवसरप्रति धेरै सचेत छ । उनीहरूका लागि यी विषय केवल नारा नभई व्यवहारमा देखिनुपर्ने कुरा हुन् । एमालेभित्र महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व देखिए पनि, निर्णय गर्ने तहमा उनीहरूको प्रभाव सीमित रहेको आलोचना उठेको छ । साथै, केही नेताका सार्वजनिक अभिव्यक्तिहरूले परम्परागत सोच झल्काउँदा नयाँ पुस्तामा नकारात्मक प्रभाव परेको छ । जेनजीले केवल देखावटी सहभागिता होइन, वास्तविक सशक्तीकरण खोज्छ । जब पार्टीले स्पष्ट नीति, व्यावहारिक कदम र समावेशी नेतृत्व देखाउन सक्दैन, तब युवा महिला र सीमान्तकृत मतदातामा दूरी बढ्दै जान्छ ।

२०. अन्तर्राष्ट्रिय सम्बन्ध र भौगोलिक सन्तुलनको अभाव

कहिले चीन त कहिले भारततिर ढल्किएको देखिने एमालेको विदेश नीतिले नेपालको दीर्घकालीन हितभन्दा पनि सत्ता स्वार्थ हेरेको आरोप लाग्यो । सचेत युवाहरूले एक स्थायी र सन्तुलित विदेश नीति खोजेका थिए ।

समग्रमा हेर्दा, नेकपा एमालेको चुनौती केवल बाह्य प्रतिस्पर्धाबाट होइन, आन्तरिक संरचना, नेतृत्व शैली र बदलिँदो मतदाता मनोविज्ञानसँग अनुकूल हुन नसक्नुबाट उत्पन्न भएको देखिन्छ । जेनजी पुस्ताले परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गर्दै परिणाममुखी, पारदर्शी र समावेशी शासनको माग गरेको छ । यदि एमाले तथा अन्य पुराना दलहरूले आफ्ना एजेन्डा, कार्यशैली र नेतृत्वलाई समयअनुकूल रूपान्तरण गर्न सकेनन् भने, आगामी दिनमा उनीहरूको राजनीतिक प्रभाव अझ खुम्चिन सक्ने देखिन्छ । त्यसैले, बदलिँदो पुस्ताको अपेक्षालाई बुझेर ठोस सुधारतर्फ अग्रसर हुनु नै दीर्घकालीन अस्तित्वको आधार बन्न सक्छ ।

आगामी दिनमा नेकपा एमालेले अपनाउनुपर्ने कदमहरू

नेपालको बदलिँदो राजनीतिक परिवेशमा जेनजी पुस्ताको अपेक्षा, सोच र प्राथमिकताले परम्परागत दलहरूलाई नयाँ चुनौती र अवसर दुवै दिएको छ । विशेष गरी नेकपा एमाले जस्ता दलका लागि अबको राजनीति केवल इतिहास र संगठनमा आधारित नभई नतिजा, पारदर्शिता र विश्वसनीयतामा आधारित हुन थालेको छ । यस सन्दर्भमा, पार्टीले आफ्नो पुरानो कार्यशैलीलाई पुनरावलोकन गर्दै बदलिँदो समयअनुसार सुधारका ठोस उपायहरू अपनाउनु आवश्यक देखिन्छ । यिनै सुधारका दिशाहरूले भविष्यमा राजनीतिक प्रभाव कायम राख्ने आधार तयार गर्न सक्छन् ।

१. नतिजामुखी शासनमा केन्द्रित हुनु

नीति र कार्यक्रम बनाउँदा सुरूदेखि नै स्पष्ट लक्ष्य, समयसीमा र मापनयोग्य सूचक तय गर्नुपर्छ । प्रत्येक मन्त्रालय र निकायले आफ्नो कामको नतिजा त्रैमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । कामको प्रगति कागज वा भाषणमा होइन, प्रत्यक्ष सेवामा देखिनुपर्छ । जनताको दैनिक जीवनमा सुधार नआएसम्म योजनालाई सफल मान्न नहुने मान्यता बसाल्नुपर्छ । मूल्याङ्कन प्रणालीलाई स्वतन्त्र र पारदर्शी बनाउँदा विश्वसनीयता बढ्छ । यसरी कामको परिणामलाई केन्द्रमा राख्दा विश्वास पुन: निर्माण हुन्छ ।

२. रोजगारी सिर्जना र आर्थिक अवसर विस्तार

रोजगारी सिर्जनालाई सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्छ । कृषि, पर्यटन, ऊर्जा र साना उद्योगलाई जोडेर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ । सीप विकास तालिमलाई बजारको वास्तविक मागसँग जोड्नुपर्छ । निजी क्षेत्रसँग सहकार्य गरेर लगानी बढाउने वातावरण तयार गर्नुपर्छ । युवालाई उद्यम गर्न सस्तो ऋण, तालिम र बजार पहुँच दिनुपर्छ । यसले विदेशिने दबाब घटाएर देशभित्र अवसर बढाउँछ ।

३. डिजिटल शासन र पारदर्शिता मजबुत बनाउनु

सरकारी सेवाहरू पूर्ण रूपमा डिजिटल बनाउँदा प्रक्रियामा पारदर्शिता आउँछ । लाइसेन्स, राहदानी, कर र दर्ता जस्ता सेवा अनलाइन गर्दा समय बचत हुन्छ । प्रत्येक निर्णय र खर्च सार्वजनिक पोर्टलमा राख्नुपर्छ । यसले जनताले प्रत्यक्ष निगरानी गर्न सक्छन् । डिजिटल प्रणालीले घुस र बिचौलियाको भूमिका घटाउँछ । यसरी प्रविधि प्रयोग गर्दा विश्वास र दक्षता दुवै बढ्छ ।

४. भ्रष्टाचारमा शून्य सहनशीलता लागू गर्नु

भ्रष्टाचारका आरोपलाई हल्का रूपमा लिनु हुँदैन । छानबिन तुरून्त सुरू गर्ने र नतिजा सार्वजनिक गर्ने प्रणाली आवश्यक छ । दोषी प्रमाणित भए पद वा पहुँच नहेरी कारबाही गर्नुपर्छ । पार्टीभित्र पनि आन्तरिक अनुशासन कडा बनाउनुपर्छ । भ्रष्टाचारविरूद्धको सन्देश व्यवहारमा देखिनुपर्छ । यसले पार्टीको विश्वसनीयता बलियो बनाउँछ ।

५. नीति स्पष्टता र स्थिरता कायम गर्नु

महत्वपूर्ण राष्ट्रिय विषयमा एउटै धारणा कायम राख्नुपर्छ । बारम्बार धारणा बदल्दा जनतामा भ्रम उत्पन्न हुन्छ । दीर्घकालीन योजना बनाएर त्यसैमा निरन्तर काम गर्नुपर्छ । सत्तामा र प्रतिपक्षमा हुँदा फरक व्यवहार नगर्ने संस्कार बसाल्नुपर्छ । स्पष्ट नीति हुँदा लगानी र विकास दुवै सहज हुन्छ । यसले विश्वास र स्थिरता दुवै बढाउँछ ।

६. युवा नेतृत्वलाई वास्तविक अवसर दिनु

युवालाई केवल कार्यक्रममा सीमित राख्नु हुँदैन । उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ । स्थानीयदेखि केन्द्रीय तहसम्म नेतृत्व हस्तान्तरणको योजना बनाउनु आवश्यक छ । नयाँ पुस्ताले नयाँ सोच र ऊर्जा ल्याउँछ । पुरानो र नयाँ पुस्ताबीच सन्तुलन मिलाउनुपर्छ । यसले संगठनलाई भविष्यतर्फ लैजान मद्दत गर्छ ।

७. पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउनु

निर्णय प्रक्रिया खुला र सहभागी हुनुपर्छ । फरक मत राख्नेलाई दबाउने होइन, सुन्ने संस्कार विकास गर्नुपर्छ । नेतृत्व चयन पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्छ । नीति निर्माणमा सबै तहको सहभागिता आवश्यक छ । आन्तरिक बहसले पार्टीलाई सशक्त बनाउँछ । यसले संगठनलाई जीवित र गतिशील बनाउँछ ।

८. सञ्चार शैली आधुनिक बनाउनु

सन्देश सरल, स्पष्ट र सिधा हुनुपर्छ । जटिल भाषा र पुराना शैलीले नयाँ पुस्तालाई आकर्षित गर्दैन । तथ्यमा आधारित संवादले विश्वास बढाउँछ । आक्रामक भाषणभन्दा समाधानमुखी प्रस्तुति प्रभावकारी हुन्छ । सञ्चारमा निरन्तरता र स्पष्टता आवश्यक छ । यसले जनतासँगको दूरी घटाउँछ ।

९. सामाजिक सञ्जालमा विश्वसनीयता निर्माण गर्नु

सामाजिक सञ्जालमा सत्य र प्रमाणमा आधारित सामग्री राख्नुपर्छ । गलत सूचना फैलाउने प्रवृत्ति तुरून्त रोक्नुपर्छ । आलोचनालाई हटाउने होइन, जवाफ दिने अभ्यास गर्नुपर्छ । युवासँग प्रत्यक्ष संवाद गर्ने माध्यमको रूपमा प्रयोग गर्नुपर्छ । नियमित र पारदर्शी जानकारीले विश्वास बढाउँछ । यसरी डिजिटल उपस्थितिलाई सकारात्मक बनाउन सकिन्छ ।

१०. शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप घटाउनु

क्याम्पसमा हुने तालाबन्दी र दलीय हस्तक्षेपलाई न्यून गर्नुपर्छ । विश्वविद्यालयलाई स्वतन्त्र र अनुसन्धानमुखी बनाउनु आवश्यक छ । विद्यार्थीलाई सीप र ज्ञानमा केन्द्रित वातावरण दिनुपर्छ । शिक्षक र विद्यार्थी दुवैलाई राजनीतिक दबाबबाट मुक्त राख्नुपर्छ । शैक्षिक गुणस्तर सुधार प्राथमिक लक्ष्य हुनुपर्छ । यसले दीर्घकालीन विकासमा सहयोग गर्छ ।

११. लैङ्गिक समानता र समावेशीतालाई प्राथमिकता दिनु

महिला र सीमान्तकृत समुदायलाई नेतृत्वमा वास्तविक स्थान दिनुपर्छ । नीति निर्माणमा उनीहरूको आवाज सुनिश्चित गर्नुपर्छ । समान अवसरको व्यवस्था व्यवहारमा लागू गर्नुपर्छ । भेदभावविरूद्ध स्पष्ट कदम चाल्नुपर्छ । समावेशी नेतृत्वले समाजमा विश्वास बढाउँछ । यसले न्याय र सन्तुलन कायम गर्छ ।

१२. स्थानीय समस्या समाधानमा ध्यान दिनु

दैनिक जीवनसँग जोडिएका समस्यालाई प्राथमिकता दिनुपर्छ । चालक अनुमति पत्र (लाइसेन्स), स्वास्थ्य सेवा, यातायात जस्ता विषयमा छिटो सुधार ल्याउनुपर्छ । साना सुधारले पनि ठूलो प्रभाव पार्छ । स्थानीय तहलाई अधिकार र स्रोत दिनुपर्छ । जनताको अनुभव सुधार हुँदा विश्वास बढ्छ । यसले शासनलाई प्रभावकारी बनाउँछ ।

१३. दीर्घकालीन आर्थिक दृष्टिकोण तयार गर्नु

देशको उत्पादन क्षमता बढाउने रणनीति आवश्यक छ । आयातमा निर्भरता घटाएर निर्यात बढाउनुपर्छ । ऊर्जा, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । लगानीमैत्री वातावरण बनाउनुपर्छ । आर्थिक स्थिरताले रोजगारी र विकास दुवै बढाउँछ । यसले दीर्घकालीन समृद्धि सुनिश्चित गर्छ ।

१४. प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिनु

नयाँ प्रविधि र अनुसन्धानमा लगानी बढाउनुपर्छ । नयाँ व्यवसाय शुरूवातका लागि प्रोत्साहन दिने नीति आवश्यक छ । युवालाई नवप्रवर्तनमा संलग्न गराउनुपर्छ । डिजिटल सीप विकासमा जोड दिनुपर्छ । प्रविधिले उत्पादन र सेवा दुवै सुधार्छ । यसले नयाँ अवसर सिर्जना गर्छ ।

१५. अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गर्नु

वैदेशिक नीतिमा स्पष्टता र स्थिरता आवश्यक छ । छिमेकी र विश्वसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ । राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ । दीर्घकालीन कूटनीतिक रणनीति बनाउनु आवश्यक छ । असन्तुलनले आन्तरिक राजनीति पनि प्रभावित हुन्छ । सन्तुलनले स्थिरता र विश्वास दुवै दिन्छ ।

१६. विगतको बखानभन्दा भविष्यको योजना प्रस्तुत गर्नु

इतिहास महत्वपूर्ण भए पनि भविष्य अझ महत्वपूर्ण हुन्छ । स्पष्ट लक्ष्य र कार्ययोजना प्रस्तुत गर्नुपर्छ । जनतालाई भविष्यको दिशाबारे विश्वस्त बनाउनुपर्छ । नतिजा दिने योजनामा जोड दिनुपर्छ । नयाँ पुस्ताले यही अपेक्षा राख्छ । यसले पार्टीलाई सान्दर्भिक बनाउँछ ।

१७. आलोचना स्वीकार्ने संस्कार विकास गर्नु

आलोचनालाई नकारात्मक रूपमा लिनु हुँदैन । यसलाई सुधारको अवसरका रूपमा प्रयोग गर्नुपर्छ । खुला संवादले विश्वास बढाउँछ । फरक मतलाई सम्मान गर्नुपर्छ । आत्मालोचनाले संगठन बलियो हुन्छ । यसले दीर्घकालीन सुधार सुनिश्चित गर्छ ।

१८. स्थानीय तहमा कामको परिणाम देखाउनु

स्थानीय स्तरमा प्रत्यक्ष देखिने काम गर्नुपर्छ । सडक, पानी, सरसफाइ जस्ता आधारभूत सेवामा सुधार ल्याउनुपर्छ । छिटो परिणाम दिने योजना आवश्यक छ । स्थानीय सफलताले राष्ट्रिय छवि सुधार्छ । जनताले प्रत्यक्ष अनुभव गर्ने काम प्राथमिक हुनुपर्छ । यसले विश्वास बढाउँछ ।

१९. जनतासँग प्रत्यक्ष संवाद बढाउनु

नेतृत्वले नियमित रूपमा जनतासँग भेटघाट गर्नुपर्छ । सुझाव र गुनासा सुन्ने प्रणाली विकास गर्नुपर्छ । प्रत्यक्ष संवादले दूरी घटाउँछ । नीति निर्माणमा जनताको आवाज समावेश गर्नुपर्छ । यसले सहभागिता बढाउँछ । विश्वास निर्माणमा मद्दत गर्छ ।

२०. संगठनलाई लचिलो र आधुनिक बनाउनु

पुराना संरचना र कार्यशैली परिवर्तन गर्नुपर्छ । नयाँ सोच र प्रविधि अपनाउनु आवश्यक छ । दक्ष र उत्तरदायी संगठन बनाउनु महत्वपूर्ण छ । कार्यकर्ता प्रशिक्षणमा ध्यान दिनुपर्छ । समय अनुसार परिवर्तन हुन सक्ने क्षमता विकास गर्नुपर्छ । यसले दीर्घकालीन सफलता सुनिश्चित गर्छ ।

निष्कर्ष

समग्र रूपमा हेर्दा, नेकपा एमालेको भविष्य उसले कति छिटो र प्रभावकारी रूपमा आफूलाई रूपान्तरण गर्न सक्छ भन्नेमा निर्भर देखिन्छ । जेनजी पुस्ताले स्पष्ट नीति, व्यावहारिक काम र उत्तरदायी नेतृत्व खोजिरहेको अवस्थामा परम्परागत शैलीले मात्र दीर्घकालीन समर्थन कायम राख्न सक्दैन । यदि पार्टीले नतिजामुखी शासन, समावेशी नेतृत्व र पारदर्शी प्रणालीलाई प्राथमिकता दिन सके, भने घट्दै गएको विश्वास पुन: निर्माण गर्न सम्भव छ । अन्यथा, नयाँ विकल्पहरूतर्फको आकर्षण अझ बलियो हुँदै जाने सम्भावना रहन्छ । धन्यवाद !

(लेखकः नेकपा एमाले, कामनपा २९ वडा उपसचिव तथा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बागमती प्रदेश, उपसचिव हुन्)