काठमाडौँ- नेपाली राजनीतिमा पछिल्लो समय एउटा रोचक र अर्थपूर्ण दृश्य देखियो, जहाँ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो चिरपरिचित चस्मा फुकालेर विश्वका शक्तिशाली मुलुकका राजदूतहरूसँग संवाद गरे।

सिंहदरबारमा आयोजित विभिन्न मित्र मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगको सामूहिक भेटमा प्रधानमन्त्री शाहको यो व्यवहार केवल व्यक्तिगत स्वभाव मात्र नभई एउटा गहिरो ‘कूटनीतिक सन्देश’ का रूपमा व्याख्या हुन थालेको छ।

बालेन शाहको चस्मा उनको परिचयको एउटा अभिन्न अंग बनेको छ। धेरैले यसलाई उनको सुरक्षा कवच वा एक प्रकारको ‘स्टाइल’ का रूपमा बुझ्दै आएका थिए।

कतिपय आलोचकहरूले त सार्वजनिक समारोह र औपचारिक भेटघाटमा पनि चस्मा नलगाउन सुझाव दिँदै आएका थिए। तर, बुधबारको कूटनीतिक भेटमा उनले फोटो सेसनका लागि चस्मा लगाए पनि छलफलको मुख्य समयमा भने चस्मा फुकालेर ‘आई टु आई’ (आँखामा आँखा जुधाएर) कुरा गरे। यसले उनको कूटनीतिक सजकता र अन्तर्राष्ट्रिय समुदायप्रति देखाएको सम्मानलाई प्रस्ट पार्छ।

कूटनीतिमा ‘आई कन्ट्याक्ट’ वा आँखाको सम्पर्कलाई विश्वास, पारदर्शिता र इमानदारीको प्रतीक मानिन्छ। चस्मा फुकालेर राजदूतहरूसँग कुरा गर्दा उनले आफू कुनै पर्दा पछाडि नभई प्रत्यक्ष र खुला रूपमा सहकार्य गर्न तयार रहेको सन्देश दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत जस्ता शक्ति राष्ट्रका प्रतिनिधिहरूसँगको यो प्रत्यक्ष संवादले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

भेटका क्रममा उनले नेपालको आर्थिक विकास, सुशासन र वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाका विषयमा राखेको अडानले उनी केवल आवरणमा मात्र होइन, एजेन्डामा पनि उत्तिकै प्रस्ट रहेको देखाउँछ। विदेशी कूटनीतिज्ञहरूले पनि उनको यो कार्यशैलीलाई सकारात्मक रूपमा लिँदै सहयोग र समर्थनको प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री शाहको यो ‘चस्मा कूटनीति’ ले देखाएको छ कि उनी आफ्नो व्यक्तित्व र राष्ट्रिय स्वार्थबीच कसरी सन्तुलन मिलाउनुपर्छ भन्ने कुरामा सचेत छन्। सधैँ एउटा निश्चित घेरामा रहने छवि बनाएका बालेनले कूटनीतिक टेबलमा चस्मा फुकाल्नु भनेको उनी विश्व समुदायका कुरा सुन्न र आफ्ना योजनाहरू निर्धक्कसँग राख्न पूर्ण रूपमा तयार हुनु हो। यसले नेपाली राजनीतिमा एक नयाँ र आधुनिक कूटनीतिक संस्कारको सुरुवात गरेको छ।

सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।

​राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरे।

​प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

​उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

​प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता व्यक्त गरे। ​सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो।