कांग्रेसले भन्यो- सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलत छ
काठमाडौँ- नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसम्बन्धी पछिल्लो घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गत भदौ २५ गते नै कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंशको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको स्मरण गराएका छन्।
यसैगरी भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन’ आग्रह गरेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रारम्भबाट नै भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित ढङ्गले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा अविचलित र दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।
यही चैत ६ देखि ८ गतेसम्म बसेको कांग्रेसको बैठकले गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो । साथै कांग्रेसले भदौ २३ मा भएको राज्य शक्तिको दुरुपयोग तथा भदौ २४ गतेको विध्वंशका घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न पुनः आग्रह गरेको जनाएको छ




प्रतिक्रिया दिनुहोस्