काठमाडौं : रवि लामिछानेको घरको छतबाट चालक झरेर गम्भीर घाइते हुँदा त्यही घरमा नौ जना थिए। तर प्रहरीले एकजनासँग मात्र घटनाबारे बयान लिएको छ।

घटनाको दिन रवि लामिछानेको टोली नै तनहुँबाट बेलुका ११ बजेतिर भरतपुर आएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीका अनुसार घटनाको दिन घरमा नौ जना थिए।

दुई चालकसँगै रवि, रविको श्रीमती, दीपक बोहोरा र उनको श्रीमती, क्यामराम्यान र प्राविधिकसँगै प्रशासन हेर्ने एकजना त्यही घरमा बसेका थिए।

त्यो दिन मुकुल होटलमा बसेका थिए। रविका चालक दिलबहादुर थापा (शम्भु) सँग भने ढकालका चालक बसेका थिए। 

मंसिर ४ को निर्वाचनमा रवि भाडाको घरमा बसेका भए पनि हाल उपनिर्वाचनमा भने उनी आफैंले किनेको घरमा बसेका छन्। 

यस घटनापछि थप उपचारका लागि शम्भुलाई काठमाडौं ल्याइएको छ। तर उनको स्वास्थ्य स्थिर रहेको उपचारमा संलग्न स्रोतले जानकारी दिएको छ।

उता जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलको मुचुल्का, सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान अगाडि बढायो।

शम्भु खसेको सीसीटीभीको दृष्यको प्राविधिक विश्लेषणमा आफैं खसेको प्रकृतिको नदेखिएपछि ढकालको चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भयो।

प्रारम्भिक अनुसन्धानमा टोली घरमा बसेपछि बाहिरबाट कोही व्यक्ति आएको देखिएको छैन।

अनुसन्धानको प्रक्रिया अनुसार घटनास्थलमा रहेका अन्यसँग पनि सोधपुछ गर्नु सामान्य हो। तर रवि, उनको श्रीमती निकिता, बोहोरा अनि उनको श्रीमती लगायतकासँग प्रहरीले अझै घटनाबारे औपचारिक सोधपुछ गरेको छैन। 

‘सीसीटीभीमा देखिएको दृष्यले प्राकृतिक रूपमा होसहवासमै खसेको जस्तो देखिएन। निर्जीव वस्तु खसेझैं खसेका छन्,’ अनुसन्धान स्रोतले भन्यो, ‘कि अत्यधिक मदिरा सेवन वा कसैले खसालेको हुनसक्छ। यही हो भन्नसक्ने अवस्थामा अनुसन्धान पुगेको छैन।’

एसपी कार्कीले प्रक्रिया अनुसार सबैसँग प्रहरीले घटनाबारे सोधपुछ गर्ने र गरिरहेको दाबी गरे। चालकसँगै प्राविधिक लगायतसँग सोधपुछ भइरहेको र रविसँगै अन्यसँग पनि सोधपुछ हुने उनले बताए।

‘रविजी प्रचारमा व्यस्त भएकाले सोधपुछ भएको छैन। दीपकजी घाइतेसँगै काठमाडौं जानु भएको छ। तर सबैसँग औपचारिक सोधपुछ हुन्छ,’ कार्कीले भने। (साभार : उकेरा)