कोरोनाबाट थलिएको पर्यटनले केही गति लिएको छ । २०२२ अघिल्लो वर्षको तुलनामा पर्यटनका लागि निकै आशाप्रद मान्न सकिन्छ । तर, पर्यटन प्रवद्र्धनका लागि गर्नुपर्ने काम भने प्रशस्तैै छ । नेपालमा पर्यटनको सम्भावना निकै भएकाले यसका लागि एकातिर लगानी बढाउन आवश्यक छ भने अर्कातिर प्रवद्र्धनात्मक कार्यक्रमको आवश्यकता पनि उत्तिकै छ । निकै वर्षको प्रयासमा भ्रमण वर्ष मनाउन शुरू भए पनि कोरोनाका कारण स्थगित गर्नुपर्‍यो । त्यसैले यस्तै अर्को खालको कार्यक्रम आयोजना गर्न ढिला भइसकेको छ । भ्रमण वर्षकै चर्चा चलिरहेका बेला सरकारले भ्रमण दशकको कार्यक्रम ल्याएको छ, जुन सकारात्मक छ । पर्यटन क्षेत्र सरकारको यो घोषणाबाट खुशी छ तर कस्ता कार्यक्रम हुन्छन् र नयाँ सरकारले यसलाई कसरी लिन्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

सरकारले भ्रमण दशक मनाउने तयारी गरी त्यसका लागि सुझाव दिन गठिन विज्ञहरूले विभिन्न सुझाव दिएका छन् । आगामी १० वर्षमा प्रत्येक वर्षलाई अगलअलग उत्सवका रूपमा मनाउने गरी कार्यक्रम सुझाव गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको कार्यदलले बनाएको रणनीतिक कार्ययोजनाको रूपरेखा शुक्रवार सार्वजनिक गरियो । कुनै १ वर्षलाई मात्र केद्रित गरी कार्यक्रम गर्नुभन्दा क्रमिक रूपमा सबै प्रदेश र केन्द्रीय रूपमा कार्यक्रम गर्दा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित १० ओटा उत्सवको प्रस्ताव गरिएको हो ।

आगामी १० वर्षभित्र मुलुकमा वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने लक्ष्य भ्रमण दशकले लक्ष्य लिएको छ । अहिलेको अवस्थामा यो संख्या निकै महŒवाकांक्षी देखिए पनि सही रणनीति अपनाइयो र त्यसैअनुसार पूर्वाधार बनाउन सकियो भने असम्भव भने होइन । वार्षिक पर्यटक आगमन १० लाख नाघिसकेको अवस्थामा १० वर्षको यो लक्ष्य पूरा हुन कठिन देखिँदैन । पर्यटक आगमन हरेक वर्ष १५ प्रतिशतले बढ्दा २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक आउने सरकारको विश्वास छ । 

आगामी १० वर्षभित्र वार्षिक १ लाखका दरले थप रोजगारी सृजना गर्नेेसमेत कार्ययोजनाको लक्ष्य रहेको छ । पर्यटन क्षेत्र रोजगारी सृजना गर्ने ठूलो क्षेत्र मानिन्छ । वार्षिक १० लाख पर्यटक आउँदा १० लाखभन्दा बढीले यस क्षेत्रमा रोजगारी पाएका थिए । पर्यटक आगमन वार्षिक १५ प्रतिशतले बढ्दै जाने हो भने यसले सृजना गर्ने रोजगारीको क्षेत्र पनि ठूलै हुने विश्वास गर्न सकिन्छ । नेपाल आउने पर्यटकलाई नेपाली उत्पादन नै खुवाउन सकियो भने त्यसले नेपालको अर्थतन्त्रलाई तल्लो स्तरमा विस्तार गर्न मद्दत मिल्छ । होमस्टे, ग्रामीण पर्यटन तथा कृषि पर्यटन जस्ता प्रडक्टले नेपालको अर्थतन्त्रलाई तल्लो तहदेखि नै बलियो बनाउन मद्दत पुर्‍याउने देखिन्छ । 
भ्रमण दशकको पहिलो वर्ष सन् २०२३ लाई कार्ययोजना निर्माण तथा योजना तर्जुमालगायत तयारीका कामका रूपमा अभियान चलाउन सिफारिश गरिएको छ । हतारको घोषणा र प्रभावविहीन कार्ययोजना बन्यो भने यो आन्तरिक बजारमा प्रचारबाजीको काम मात्रै हुन्छ । हामीले यसलाई अन्तरराष्ट्रिय बजारमा एउटा दिगो ब्रान्डिङ स्थापना गर्ने गरी काम गर्नुपर्छ । भ्रमण दशक मनाउने समितिको गठन पहिलो थालनी हो । कस्तो व्यक्तिलाई यसको जिम्मा दिन्छौं, त्यसले कार्यक्रमको सफलता निर्धारण गर्छ । व्यवस्थापनको विज्ञ तथा पर्यटन बुझेको व्यक्तिलाई भ्रमण दशकको सम्पूर्ण जिम्मेवारी दिनुपर्छ । सरकार फेरिए पनि भ्रमण दशकको सचिवालय नफेरिने गरी विवादरहित ढंगले सचिवालय बनाइनुपर्छ । पर्यटन बोर्डसँग समन्वय गरेर अघि बढ्ने स्वायत्त निकायका रूपमा यसलाई स्थापना गरिनुपर्छ ।

सन् २०२४ लाई बागमती प्रदेशमा सांस्कृतिक सम्पदाको अभियान, २०२५ लाई गण्डकी प्रदेशका दुर्गम भेगलाई प्रवद्र्धन गर्ने अभियान, २०२६ लाई राष्ट्रिय रूपमा साहसिक तथा आध्यात्मिक पर्यटन अभियान चलाउने प्रस्ताव कार्यदलले गरेको छ । त्यस्तै सन् २०२७ लाई लुम्बिनी प्रदेशमा बुद्धिष्ट पर्यटनको प्रवद्र्धन र २०२८ मा मधेश प्रदेशमा रामायणमा आधारित पर्यटन अभियान चलाइनेछ । सन् २०२९ मा सुदूरपश्चिम प्रदेशको प्रकृति र आध्यात्मिक पर्यटनमा आधारित रहेर अभियान, सन् २०३० मा प्रदेश नम्बर १ मा केचनाकवलदेखि सगरमाथासम्मको जैविक विविधतालाई उत्सव र सन् २०३१ मा ‘भर्जिन कर्णाली प्रदेश’ अभियान चलाइनेछ । सन् २०३२ लाई ‘फेस्टिभ नेपाल’ नाममा राष्ट्रिय अभियान चलाउने प्रस्ताव गरिएको छ । यी कार्यक्रम सकारात्मक छन् । तर, यत्तिले मात्रै भ्रमण दशक उपलब्धिमूलक हुन्छ भन्न सकिँदैन ।

यसका लागि प्रत्येक वर्ष एक–एक प्रडक्ट, जस्तै पदयात्रा वर्ष, हिमाल आरोहण वर्ष, साहसिक भ्रमण वर्ष, स्थानीय संस्कृति अवलोकन भ्रमण वर्ष, पक्षी अवलोकन वर्ष, सांस्कृतिक र ऐतिहासिक सम्पदा अवलोकनजस्ता विधागत क्षेत्रलाई प्राथमिकता दिएर १ दशक मनाउनु बढी प्रभावकारी हुन्छ । साथै जुन वर्ष जुन विधालाई प्राथमिकता दिइएको छ, त्यस क्षेत्रमा छूट दिने, नयाँ खालको प्रडक्ट ल्याउने, नयाँपन र विविधीकरण गर्ने काम गर्नुपर्छ । त्यसैगरी स्रोत मुलुकमा जस्ता रुचि भएका पर्यटक हुन्छन् त्यसैअनुसार प्रचारनीति लिइनुपर्छ । यूरोपबाट आउने पर्यटक, भारतबाट आउने पर्यटक र चीनबाट आउने पर्यटकका रुचि उस्तै हुँदैनन् । त्यसैले यस पक्षलाई ध्यान दिनुपर्छ । 

यसको सफलता भ्रमण दशक सचिवालय कस्तो बन्छ, उसले कति बजेट पाउँछ, समन्वय र सहयोग कत्तिको मिल्छ, निजीक्षेत्रलाई कत्तिको समेटिन्छ भन्ने कुरामा निर्भर हुन्छ । पर्यटन क्षेत्र बुझेको व्यक्ति भएर मात्र पनि हुँदैन, कुशल व्यवस्थापक पनि हुनुपर्छ । यस्तो कुशल व्यवस्थापकलाई बजेट, कानूनी सहजता, समन्वय र सहयोग हुन सक्यो भने उसले पक्कै पनि परिणाम दिने गरी काम गर्छ । भारतमा यही रणनीतिले काम गरेको थियो र नेपालले पनि त्यसको सिको गर्नु जरुरी छ । 

लेखक पर्यटन व्यवसायी हुन् ।