बुटवलमा नयाँ ट्रेकिङ रुट

रासस- बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ। ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रूपमा रहेको छ।
नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ। बुटवल-नुवाकोटगढी नयाँ पदयात्रा (हाइकिङ) पर्यटकीय गन्तव्यका रूपमा विकास थालिएको हो।
लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल-नुवाकोटमा एकदिने हाइकिङका रूपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन्।
नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा भन्ने नारासहित पदयात्रा (हाइकिङ) को सुरुआत गरिएको छ।
फूलबारी-नुवाकोट हाइकिङ पर्यटन प्रवर्द्धनमा नेपालकै महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न लाग्नुपर्ने पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।
उनले भने, ‘यस क्षेत्रका लागि फूलबारी-नुवाकोट पर्यटकीय दृष्टिकोणले मात्रै नभएर स्वास्थ्य, प्रकृति र वातावरणका हिसाबले पनि महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो।’ उनले बुटवल-नुवाकोटगढी हाइकिङले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे।
लुम्बिनी प्रदेश सरकारका पूर्वपर्यटनमन्त्री लीला गिरीले बुटवलबाट बिहानी हिँडाइमाथि नुवाकोटगढीमा पुगेर पुनःबुटवल फर्किंदा आम मानिसका लागि स्वास्थ्यका हिसाबले अतिउत्तम हुने बताइन्।
गिरीले विदेशी पर्यटक लागि पनि यो छोटो दूरीको अन्त्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने जानकारी दिइन्। पर्यटन प्रवर्द्धनका लागि नाट्टाले हाइकिङका रूपमा विकास गर्ने योजनाले यस क्षेत्रको पर्यटनमा नयाँ गन्तव्यको विकास भएको नाट्टा प्रदेश अध्यक्ष रचना पन्तले बताइन्।
यात्रामा विभिन्न संघ संस्थाका प्रमुख, निजी क्षेत्रका अगुवा, सुरक्षाकर्मी, कलेजका विद्यार्थी, पत्रकारलगायत गरी साढे तीन सयभन्दा बढीले साढे तीन किलोमिटरको उकालो चढेर माथि नुवाकोट पुगी पुनःतल फूलबारी फर्केका थिए।
पर्या-पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण गन्तव्यका रूपमा रहेको बुटवल-नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक रहेको भैरहवाको सिर्जना जोशीले बताए। नुवाकोट प्रवेशद्वारबाट करिब आठ सय मिटरको सिँढी चढ्दा केहीमाथि समथर भूगोल आउँछ।
उक्त समथर भूभागमा हाइकिङमा जाने यसो एकछिन आराम गर्न पनि मिल्छ। हाइकिङमा पहिलो पटक जानेको लागि उक्त ठाउँ पहिलो विश्रामस्थल हो।
उत्तर पश्चिम पहाडको सालघारीको यात्रामा हिँडे झैं लाग्ने र सालका रहर लाग्दा बोटले थप आनन्द दिने हाइकिङका क्रममा पसिनापुछ्दै उकालो उक्लिरहेकी भैरहवाकी ज्ञानुमाया पोखरेलले बताइन्।
भ्यूटावरबाट साँझ बुटवल बजारको झिलिमिली अवलोकन गर्न र चिसो मौसममा स्थानीय उत्पादनबाट बनाइएका खानाको परिकारको स्वादमा नाच्दै गाउँदै पर्यटक रमाउँदा साच्चिकै आनन्द अनुभूत हुने नाट्टाका पूर्वध्यक्ष सागर अधिकारीले जानकारी दिए।
त्यस क्षेत्रको विकासका लागि सबैको सहकार्यमा आफूहरूले योजनाबद्ध काम गरिरहेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको भनाइ छ। उनले नुवाकोट गढीलाई ऐतिहासिक, धार्मिक र पर्यावरणीय हिसाबले पर्यटन प्रवर्द्धन गर्न योजनाबद्ध रूपमा काम भइरहेको बताए।
नुवाकोटगढी पुग्न अहिले बुटवल उपमहानगरपालिका-१३ बेलवासदेखि करिब एक घण्टामा सडक मार्गहुँदै सवारीसाधनमा पनि पुग्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्