शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नुभएको छ । मन्त्री पौडेलले आज बुधवार काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गर्नुभयो । मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले विद्यालयहरूको अनुगमनको काम सुरु गरेको जानकारी दिनुभयो । उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताउनुभयो ।

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउन कडा मेहनत गर्न पनि शिक्षकहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक शिक्षालाई अलि तीव्र गतिमा सुधार गर्ने, शिक्षण सिकाइ र शिक्षण सिकाइसँग सम्बन्धित आवश्यकताअनुसार परिमार्जन गरेर अघि बढ्ने गरी हामी अगाडि बढ्छौँ । र हामीले शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमी कमजोरीलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने, शिक्षण सिकाइसँग सम्बन्धित प्रविधिहरू छ कि छैन रु सिकाइको प्रक्रिया के छ रु शिक्षक, अभिभावक र विद्यार्थीबीचको तादम्यता मिल्दोजुल्दो छ कि छैन रु यी कुरालाई दृढतापूर्वक अघि बढाउन हामीले ध्यान दिएका छौँ ।’

त्यस अवसरमा संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।