दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई सदरमुकाम खलङ्गा झिकाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । ग्रामीण सडक भत्किएकाले पैदल नै सदरमुकाम ल्याइने जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले बताउनुभयो ।

घटनास्थल सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पर्दछ । गएको १५ गते भत्ता वितरणका क्रममा विवाद हुँदा वडा अध्यक्ष नेपालीले सर्पे दमाईलाई कुटपिट गरेका थिए । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बल्ल उनलाई सदरमुकाम झिकाइएको हो । यसअघि उनले पीडितलाई आउँदो दिनमा यस्तो गल्ती नगर्ने भन्दै कागज गराएर मिलापत्र गराएका थिए । वडाअध्यक्ष नेपालीलाई कानुनअनुसार कारबाही हुने जाजरकोट प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाका अनुसार पीडित पक्षलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले वडाअध्यक्षमाथि अहिलेसम्म उजुरी दिएका छैनन् । तर, स्थलगत मुचुल्का र प्रमाणका आधारमा अनुसन्धानलाई अगाडि बढाउने प्रहरीले जनाएको छ।