१८ औ राष्टिय धान दिवस बैजनाथले पनि मनायो
यो वर्षको धान रोपाइँ २७ प्रतिशत सकियो

बाँके / १८ औ राष्टिय धान दिवस तथा रोपाई महोत्सव बैजनाथ गाउँपालिका वडा न ३ मा मनाइएको छ ।
बैजनाथ गाउँपालिका कृषि बिकास शाखाको आयोजना र मिलिजुली कृषक समुह नौवस्ताको सहआयोजनामा आज असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाइएको हो । राष्ट्रिय धान दिवसको अबसरमा बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले असार १५ को छुटट्ै महत्व रहेको बताउनुभयो ।
किसानहरुले वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुने आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन रहेको बताउनुभयो । यस वर्षको राष्ट्रिय धान दिवसको नारा, ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।
आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
विसं २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । नेपालमा अहिलेसम्म २७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत कम हो ।
अघिल्लो वर्ष यो अवधिमा ३५ प्रतिशत रोपाइँ सकिएको थियो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार यो वर्षको अहिलेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गएको वर्ष असार १५ सम्ममा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्