काठमाडाैं- अमेरिकी राष्ट्रपति जो वाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेट भएकाे छ। अमेरिका-रुस सम्बन्ध निकै तल्लोस्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेट भएकाे हाे।

यसै समय दुवै नेता जेनेभामा प्रत्यक्ष भेट भएकाे छ। यो वार्ता चारदेखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ। तर, वार्ताबाट तत्कालै कुनै निष्कर्ष निस्कनेमा दुवै नेता विश्वस्त छैनन्।

अमेरिकी राष्ट्रपति वाइडेनले उक्त भेटमा रूसी राष्ट्रपति पुटिननसमक्ष पहिले हात बढाएका थिए। पुटिनले पनि हात मिलाउन अघि बढेका थिए। दुवै एक अर्काको आँखामा हेरे र क्यामेरा तिर लागेका थिए।

पुटिन र वाइडेनीच विस्तृत छलफल हुनेछ। अन्तर्राष्ट्रिय कूटनीतिका अनुसार यस बैठकमा सम्पूर्ण विश्वका आँखा छन्। वाइडेन अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक रूसी राष्ट्रपति पुटिनसँग भेट गरेका हुन्। 

भेटमा जेलमा रहेका पुटिनका विपक्षी अलेक्सी नाभनीको मुद्दा पनि हुने बताइएकाे छ। यस बैठक अघि  वाइडेनले पुटिनलाई ‘सक्षम विरोधी’ भनेर वर्णन गरेका थिए।

विगत चार महिनादेखि दुवै नेताले एकअर्काविरुद्ध तीखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए। वाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न पुटिनले उक्साएको आरोप लगाएका थिए।

साथै, उनले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताएका छन्।

तर, रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरुको खण्डन गरिरहेका छन्। अमेरिकी संसद्‍मा गत जनवरी ६ मा भएको घटनालाई दृष्टान्त बनाउँदै उनले अमेरिकाले लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर अरुलाई पाठ नपढाएको ठीक हुने बताएका छन्।

उनले अमेरिकी गुप्तचर निकायहरुले जेसुकै देखाए पनि अमेरिकी कुनै पनि चुनावलाई लक्षित गरेर आफूहरुले हस्तक्षेप वा साइबर आक्रमण नगरेको स्पष्ट गरेका छन्।