अहिलेसम्म पाइएका सङ्क्रमितहरूको सामाजिक बसाइ भाइरस सर्न नसक्ने किसिमको दूरीमा नभएको भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता प्रकट गरेका छन्।

अधिकांश सङ्क्रमितहरूको बस्ती अत्यन्तै बाक्लो भएकाले कोरोनाभाइरस एक अर्कामा सजिलै सरेको उनीहरूको बुझाइ छ।

जनस्वास्थ्य विज्ञहरूले न्यूनतम पाँचवटा सुझाव अवलम्बन गर्न सर्वसाधारणलाई सुझाएका छन्।

१. लकडाउनको पूर्ण पालना

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि जारी रहेको लकडाउन कतिपय स्थानमा पालना नभएको पाइएको छ।

धेरै शहरी तथा बाक्लो बस्ती भएका स्थानमा विनाकाम मानिसहरू घरबाट बाहिर निस्केभने सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आउने सम्भावना बढ्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख सुरेश मेहताका अनुसार घरबाट बाहिर ननिस्किँदा सङ्क्रमणको जोखिम घट्छ।

लकडाउन

तर सङ्क्रमित क्षेत्रका मानिसहरूले लकडाउनको पूर्ण पालना नगरेको उनले बताए।

उनले भने, “सङ्क्रमण भएका स्थानहरूमा बाक्लो बस्ती छ। घरबाट ननिस्किएको भए सङ्क्रमण फैलने सम्भावना कम हुन्थ्यो। तर बस्तीमा हेलमेल ज्यादा भएको पायौँ।”

२. सामाजिक दूरी कायम गर्ने

प्रदेश नं १ मा सङ्क्रमणको स्थिति हेर्ने हो भने हालसम्म जुन समुदायका मानिसहरूमा ज्यादा सङ्क्रमण भएको पाइयो तिनको बस्ती अत्यन्तै बाक्लो अवस्थामा रहेको देखिएको मेहताले बताए।

ती स्थानमा सामाजिक दूरी कायम गराउन निकै गाह्रो भएको उनको अनुभव छ।

मेहताले भने, “मैले उदयपुरको भुल्के गएर हेरेँ। सामाजिक दूरी कायम नभएकैले त्यहाँ एक जनाबाट अर्कोमा सङ्क्रमण सरेको जस्तो लाग्छ।”

प्रदेश नं १ का सङ्क्रमितहरू सबै निम्न आय स्रोत भएका मानिसहरू रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कम्तीमा एक-आपसमा तीन फिटको दूरी कायम हुँदा सङ्क्रमणको जोखिम कम हुने स्वास्थ्यकर्मी बताउँछन्।