सुन्धारा, भोटाहिटी र दरवारमार्गमा ट्राफिक आइल्याण्ड पुननिर्माण

काठमाडौं । काठमाडौं महानगरपालीकाले ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्धनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति पुनरावलोकन गर्ने भएको छ ।
व्यवस्थापन गर्ने भनेर जिम्मा लिने, बिज्ञापन राख्नमा ध्यान दिने तर मर्मत र सामयिक सुधारमा ध्यान नदिने भएपछि वातावरण व्यवस्थापन बिभागले सहमतिहरुको पुनरावलोकन गर्ने भएको छ । बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार— ठाउँ लिएर बिज्ञापन गर्ने तर आवश्यकताअनुसारको काम नगर्ने प्रवृत्ति हावी भएको देखियो । अब साझेदार सबैसँगको सम्झौता पुनरावलोकन गर्छौं । त्यसपछि जसले महानगरको मापदण्डमा काम गर्छ, ऊसँगको सहकार्यलाई निरन्तरता दिन्छौं । यसक्रममा केहीसँग सम्झौता भङ्ग हुन पनि सक्छ ।
लकडाउन कायम रहकै बेला महानगर आफैंले सुन्धारा र भोटाहिटीका ट्राफिक आइल्याण्ड पुननिर्माण सम्पन्न गरेपछि, बाँकीलाई के गर्ने भन्ने प्रश्नको उत्तरमा उनले पुनरावलोकनको प्रसङ् ल्याएकी हुन ।
लडकडाउनका समयमा बढार्ने, फोहोर संकलन ढुवानी तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्नेजस्ता नियमित सरसफाइका कामसँगै सहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधारका काम गरिरहेको दाबी गरेको छ । यस क्रममा सुन्धारामा ४ वटा र भोटाहिटीमा एउटा आइल्याण्ड पुननिर्माण भइसकेका छन् भने दरवार मार्गमा काम थालनी हुने चरणमा पुगेको महानगरले जनाएो छ ।
आइल्याण्डको साविक संरचनामा उचाइ बढाएर साढे २ फिट बनाइएको छ भने आकर्षक बनाउन बाहिरी स्वरुपमा परम्परागत इटा राखिएको छ । संरचनाको भित्री भागमा थप माटो भरेर फूल तथा बिरुवा रोपिएका छन् । फोहोरमैला तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बराल भने — यो महानगरको मापदण्ड हो । यो मापदण्ड स्वीकार गरेर सबै आइल्याण्डलाई एउटै ढाँचामा बनाउने शर्त स्वीकार गर्ने साझेदारसँग सहकार्य निरन्तर हुन्छ । नत्र सहमति भङ्ग हुन्छ । बरालका अनुसार सुन्धारा चोकमा भएका ४ वटा आइल्याण्ड पुननिर्माणको लागत करीब १० लाख रुपैयाँ हो भने भोटाहिटी र दरबारमार्ग अघिल्तिर गरी दुई ठाउँको करीब ९ लाख ५० हजार रुपैयाँ हो ।
बरालका अनुसार यसपछि तुरुन्त त्रिपुरेश्वर चोक र अनामनगर हनुमानस्थानबाट अगाडि घट्टेकुलोतर्फ लाग्दा सडकको दायाँतर्फ भएका आइल्याण्डहरुलाई सुधार गरिनेछ ।
पुननिर्माण सम्पन्न गरिएका सुन्धाराका ४ वटा आइल्याण्डको माथिल्लो भागमा दुवो ७५० बोट सिजनल फूल र विभिन्न जातका बिरुवा रोपिएका छन् । यसरी रोपिएका विरुवाहरु एलिजिया, साइकस पाम, सेप्लेरिया भेरिगेटर, नीलजाई, ड्रेसिना इलिगन, ड्रेसिन भेरिकेटर, फोनिक्स पाम, क्याट्रक पाम, ड्रेसोना जातका हुन् । त्यस्तै क्लोटन, जनादो पाम, बटर प्याराडाइज र रेक्सोना पाम पनि रोपिएका हुन् । भोटाहिटीमा पनि यिनै प्रजातिका पूmल र बोटविरुवा रोपिएका छन् ।
महानगर क्षेत्रभित्रका ट्राफिक आइल्याण्डहरु
त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक गेट सामुन्ने, महाङ्काल मन्दिर अगाडि, बीर अस्पताल अगाडि, भोटाहिटी, जमल आकाशे पुलमुनि, तीनधारा पाठशाला अघि, दरबारमार्गबाट काठमाडौं प्लाजा जाने मुखमा, त्रिचन्द्र क्याम्पस अगाडिलगायत महानगरका बिभिन्न २७ ठाउँमा ट्राफिक आइल्याण्ड छन् । वातावरण व्यवस्थापन बिभागका इञ्जिनियर प्रमिला पराजुलीकाअनुसार शंखधर पार्क (रत्नपार्क) बाट बागबजार जाने चोकमा, भद्रकाली, माइतीघर मण्डला, थापाथली, नागपोखरी, कोटेश्वर, तीनकुने चोक, बालाजु चोकमा ट्राफिक आइल्याण्ड छन् । त्यस्तै टङ्केश्वरी मन्दिर छेउ, चित्तधर शालिक आइल्याण्ड कालीमाटी, तीनकुनेको उत्तरतर्फ, एअरपोर्ट गेट, कमलादी, ज्ञानेश्वरबाट कालोपुल जाँदा सानो गौचरण चोक, पुतलीसडकबाट बाँसघारी हुँदै कालिकास्थान जाने चोक, अनामनगर हनुमानस्थानदेखि घट्टेकुलो जाने मुखसम्म रहेका छन् ।
यीमध्ये केहीको मर्मत सम्भार तथा व्यवस्थापन महानगर आफैंले गरिरहेको छ भने केहीको व्यवस्थापनका लागि निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत निजी क्षेत्रलाई नै दिईएको छ । यसरी दिइएकामा माइतीघर मण्डला कृषि बिकास बैङ्कलाई, जमल — तीनधारा पाठशाला अघि र शंखधर पार्क (रत्नपार्क)को आइल्याण्ड प्रभु बैङ्कलाई, त्रिपुरेश्वर चोकको आइल्याण्ड सेन्च्युरी बैङ्कलाई दिइएको छ । यसैगरी नयाँ सडक गेट अघि र प्रदर्शनी मार्ग (राष्ट्रिय सभा गृह अघि) का आइल्याण्डको मर्मत सम्भार र व्यवस्थापनको जिम्मा नबिल बैङ्क र एरोरुटलाई संयुक्त रुपमा दिइएको छ ।
आइल्याण्डबाहेकका अन्य ५ ठाउँका सडक किनारामा हरियाली बढाउने काम पनि निजी क्षेत्रले जिम्मा लिएका छन् । यी ठाउँमध्ये माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन नेपाल टेलिकमले गरिरहेको छ । चक्रपथ क्षेत्रअन्तर्गत त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको बाहिरी क्षेत्रमा टोयोटा (युनाइटेड टे«डर्स सिन्डिकेट) ले, काठमाडौं उपत्यका खानेपानी लिमिटेड अघिल्तिरको पर्खाल क्षेत्रमा हुवाई, सर्वोच्च अदालत अघिल्तिर पञ्चकन्या समूह र नेपाल बायु सेवा निगम अघिल्तिरको भागमा नेबिल बैङ्कले हरियाली व्यवस्थापनको काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्