धनगढी । धनगढीकी कोरोना संक्रमित एक महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ देखिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले चैत २२ गते ती महिलामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएका थिए । संक्रमित महिलाको चार पटक सम्म परीक्षण भईसकेको छ । सूचना अधिकारी श्रेष्ठले उनको फेरी परीक्षण गरिने बताए ।

उनीसँगै अस्पतालमा भर्ना भएका अरु दुइजना यसअघि नै डिस्चार्ज भईसकेका छन् । अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसमा कोरोना संक्रमितमा उनको मात्रै उपचार भईरहेको छ । बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । दुबईबाट आएका उनका ३४ बर्षीय देवरबाट उनमा कोरोना सरेको आशंका गरिएको छ ।

उनका देवर सहित अस्पतालबाट अहिले सम्म चार जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक, लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष अस्पतालबाट यसअघि नै डिस्चार्ज भईसकेका छन ।