काठमाडौँ । चीनबाट सुरु भएको कोरोना (कोभिड १९) नामक भाइरसले यति बेला विश्व परिक्रमा गरिरहेको छ । करिब ३ महिनाको अवधिमा सवा लाख भन्दा बढीको ज्यान लिइसकेको यो रोगको औषधी पत्ता लगाउन सकिएको छैन । विश्व चकित बनाउने गरी फैलिएको यो महामारीले अहिलेसम्म हाम्रो देशमा ठुलो मानवीय विनाश गरेको चाहिँ छैन,तर दैनिक जसो सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मानसिक त्रास चाहिँ बढेकै छ । सङ्क्रमितको सङ्ख्या निकै कम भए पनि देशका अधिकांशमा कोरोनाले ठुलो त्रास पैदा गराएको छ । कोरोना त्रासकै कारण धन्न सरकारले लकडाउन चाहिँ गरिदिएको छ, हुनेले घरमा बसेर खाएकै छन् ,नहुनेलेपनि घरभित्रै बसेर सरकारको समर्थन गरेकै छन् ।

हिजो चुनावको समयमा चन्दा मार्फत ठुलो धनराशि बुझाउने मार्सीवालालाई त लकडाउन झन् कमाउने वैधानिक अवसर बनेको छ । मेडिकल माफिया, कर छली गर्ने,कालोबजारी गर्ने,सरकारको संरक्षणमा कृत्रिम अभाव सृजना गरी कमाउने व्यापारीलाई त लकडाउन होस् वा नाकाबन्दी सधैँ दसैँ नै छ ।

गरिब,निमुखा,भोका,जनताको दैनिकी कसरी चलेको छ ? यिनका बालबच्चा कसरी पालिएका छन् ? बर्षौंदेखि रोग पालेर बस्न बाध्य ती वृद्ध बाबुआमाले औषधी पाएका छन् की छैनन् ? यसमा कसैको ध्यान गएको छैन । समृद्धिको यात्रामा निस्केको दुई तिहाइको सरकारले त झन् यस्ता झिना मसिना कुरामा ध्यान दिन भ्याएकै छैन ।

संम्बृद्ध नेपाल,सुखी नेपाली भन्ने अभियानमा हिँड्नुभएका प्रधानमन्त्री ज्युलाई पनि यति बेला भित्रिया र सल्लाहकार बन्नेहरूले चुप बस्न सल्लाह दिएको हुनुपर्छ किनभने बिरामी मान्छे धेरै बोल्न हुन्न भनेर त डाक्टरले भन्ने गरेकै छन् । फेरी प्रधानमन्त्री ज्यु त आफैँ पनि जान्ने सुन्ने भविष्य समेत बताउन सक्ने पर्नुभयो । त्यसैले प्रधानमन्त्री ज्युलाई देशको अवस्था अरूले बताउनै पर्दैन । कोही बोली हाल्यो भने पनि प्रधानमन्त्री ज्युलाई बेमौसमी बाजा बजे जस्तो लाग्छ, नबुझेर कोही बरबराएको लाग्छ, सरकार हल्लाएको जस्तो लाग्छ अनि भनिदिनुहुन्छ–“सरकार ढलाउने सपना कसैले नदेखे हुन्छ ।” तर,जनताले भन्न खोजेको कुरा प्रधानमन्त्री ज्यु तपाईँ स्वस्थ रहनुस्,सरकार ढल्दैन त्यसमा ढुक्क हुनुस्, तनाव लिएर आफ्नो स्वास्थ्य नबिगार्नुस् ।

अहिले प्रधानमन्त्री ज्युको पार्टीभित्र चाहिँ केही खिचडी पाक्न लागेको हो की भन्ने बाहिर आएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घरमै साइकिल गुडाउने र दाउरामा खाना पकाउन सिक्ने, पूर्व सल्लाहकारहरू फेसबुकमा लेख्ने,वर्तमान सल्लाहकार र युवाको नेताबिच जुहारी चलिरहने,पार्टी निकट पत्रकार भएर पनि सरकारलाई संरक्षण नगर्ने भन्दै कारबाही गरौँ भन्ने अनि आफैँले बनाएका मन्त्रीहरू पनि क्याबिनेटको निर्णय बैठकमा मात्रै थाहा पाइन्छ बोल्न पाइँदैन भन्दै हिँड्ने कुराले पार्टी र सरकारमा थोरै क्याल्सियमको कमी भएको जस्तो देखिन्छ ।

अस्तीमात्रै प्रधानमन्त्रीज्युले नयाँ वर्ष २०७७ सालको नयाँ वर्ष राष्ट्रिय«य गान र ताली बजाएर मनाउने भन्दा पनि पार्टीका धेरैजसो नेताले उन्लंघन गरे भन्ने पनि आयो । यता लकडाउनको विषयमा पनि प्रधानमन्त्री ज्युको कुरा र पार्टी अध्यक्ष प्रचण्डको कुरा भिन्न भिन्न आइरहेको छ । कोरोना जस्तो महामारीसँग लड्न सरकार एक्लै होइन बृहद राष्ट्रिय सहमति सहितको सरकारलाई नै सघाउने सर्वदलीय संयन्त्र बनाउने भन्ने प्रस्ताव प्रचण्डले राख्दा प्रधानमन्त्रीज्युले ठाडै अस्वीकार गर्नुभएको भन्ने चर्चा बाहिर आयो । उता सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहनुभएको कमिटीले गरेका निर्णय समेत प्रधानमन्त्री ज्युलाई चित्त नबुझ्दा एकाध घण्टा भित्रै उल्टने गरेका छन् ।

अहिले हामीलाई बाँच्नका लागि सरकारको साथ चाहिएको छ । तर,सरकार आफैँ हल्लिन्छु की भनेर अरूको साथ खोजिरहेको जस्तो लागिरहेको छ । छिमेकी राष्ट्र«का समकक्षीसँग कुरा हुँदा पनि कोरोनाको कुरा हुन्छ की कुर्सीको भन्ने शङ्का हुन थालिसक्यो । यदि कोरोनाको कुरा हुन्थ्यो भने अहिलेसम्म कति स्वास्थ्य सामाग्री हाम्रा लागि आयो ? के सामाग्री अनुदानमा आयो र के किनेर ल्याइयो ? अनि कोरोना परीक्षण किन विश्वासिलो ढङ्गबाट भइरहेको छैन ? की त्यो पनि नक्कली पर्‍यो ? यसको जवाफ जनताले चाहेका छन् सरकार । खानै नपाए पनि,जानै नपाए पनि र बोल्नै नपाए पनि जनता सरकारकै साथमा छ तर सरकार जनताको साथमा छ की माफियाको साथमा छ ?

हिजो डाक्टर गोविन्द केसी अनसन बस्दा पागल भन्नेहरूले आज देखे होलान् मेडिकल माफियाले कोरोना उपचारमा कति पैसा सहयोग गरे ? अनि कुनचाहिँ प्राइभेट हस्पिटलले बिरामीको उपचार गरिरहेको छ ? आज पनि भारतीय सिमानाबाट मान्छेहरू आइरहेका छन् सरकारको कुनचाहिँ संयन्त्रले काम गरिरहेको छ ? अनि ७ वटा प्रदेश सरकारले यो विपत्तिकोबेला कहाँ कसरी काम गरिरहेका छन् सरकार ? आज तीन साता सम्म न सङ्घीय सरकारका मन्त्री बोल्छन् न प्रदेश सरकारका मन्त्री । अनि सङ्घीय सांसद र प्रदेश सांसद कहाँ लुकेका छन् ?


महानगरका,उपमहानगर,नगर र गाउँपालिकाका प्रमुखहरूले कसले कहाँ कति काम गर्नुभयो यो विपत्तिमा ? धन्न तिमीहरूले नखोजे पनि हामी जिउँदै छौँ सरकार ।

यसर्थ,जनतालाई यती धेरै बेवकुफ बनाउन पनि नखोज सरकार यदि कोरोनाले जनता सकुशल रहे भने एक एक हिसाब माग्नेछन् । जब भोको पेट र नाङ्गो शरीर लिएर खाली खुट्टा जनता सडकमा आए भने त्यो दिन तिमीले थाहा पाउने छौ की जनताको असली ताकत । कोरोना त्रासमा भोको पेट बाँचेर पनि तिम्रो सिंहासन भत्काउन जब जनता जाग्छन् नि अनि भन्नेछौ जनतामा यति ताकत कहाँबाट आयो । त्यसैले अहिले यति मात्रै बुझ्दै गर सरकार हामी जिउँदै हौँ ।