कोरोना कहर : खोप नै संसारलाई पुरानै शैलीमा फर्काउने उत्तम उपाय

अमेरिकी अर्बपति तथा व्यापारी बिल गेट्सले कोरोना भाइरस विरुद्धको खोपको विकास नभएसम्म संसार पुरानै शैलीमा फर्किन नसक्ने बताएका छन् ।
उनले डेढ वर्षमा कोरोना भाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुनसक्ने बताएका छन् ।
उनले कोरोना भाइरसविरुद्धको खोप नै संसारलाई पहिलेकै शैलीमा फर्काउन सकिने एकमात्र उपाय भएको बताएका हुन् ।
माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सले तत्काल रोग निदानका निम्ति आवश्यक पर्ने सामग्री निर्माणका कार्यक्रममा विगतमा लगानी नगर्नु गम्भीर गल्ती भएको बताए ।
‘त्यस्तो लगानी गरिएको थियो भने खोप निर्माणको अवधि आधामा घट्न सक्ने थियो,’ उनले भनेका छन्, ‘एक समय थियो जतिखेर मैले अनि कैयन् अरू स्वास्थ्य विज्ञहरूले यस (महामारी) लाई संसारले भोग्न सक्ने सम्भवतः सबभन्दा विषम जोखिम भनेका थियौं ।’
सन् २०१५ को एउटा सम्बोधन तथा न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा यस्ता सम्भाव्य खतराबारे औंल्याइएको तर त्यसअनुसार आवश्यक लगानी भने गर्न नसकिएको उनले स्मरण गरेका छन् ।
कोरोनाभाइरस संक्रमणका विवरण आएको पहिलो केही महिनामा पनि खासगरि परीक्षणसम्बन्धी काम अपेक्षाकृत हुन नसकेको भन्दै उनले संसारका थोरै देशहरूले मात्र महामारीसँग जुझ्न गतिलो काम गर्न सकेको बताए ।
अहिले विश्व नै हालसम्मकै सबभन्दा आवश्यक खोप निर्माणको दौडमा लागेको उनले बताएका छन् । गेट्सको परोपकारी फाउन्डेसनले पनि खोप निर्माणको अनुसन्धान र विकासमा मद्दत गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्