काठमाडाैं । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आगामी दुई साता नेपालका लागि थप चुनौतिपूर्ण हुने बताएका छन्।

प्रधानमन्त्री ओलीले आउने केही साता साह्रो/गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने बताए । ‘आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्छ । यो थप संक्रमण देखिन सक्ने अवधि मात्र होइन समुदायमा संक्रमण फैलिने जोखिमको अवधि पनि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘आउने केही हप्ता केही साह्रो/गाह्रो सहँदा जीवन रक्षा गर्न सकिन्छ ।’

संकटको कालो बादल अवश्य हटेर जाने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे । विदेशमा रहेका नेपालीहरूतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जो जहाँ छौं, त्यहीँ सुरक्षित रहौं । संकटको कालो बादल अवश्य हटेर जानेछ ।’

सामाजिक सञ्जाल र मिडियामा भैरहेका सरकारको आलोचनालाई प्रधानमन्त्री ओलीले कुप्रचार भने । ‘मिडिया र सामाजिक सञ्जालमा आउने गरेको आलोचनाप्रति मेरो ध्यान गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार नगर्ने र गर्न नदिने सरकारको प्रतिबद्धतालाई यस्ता कुप्रचारले प्रभावित पार्ने छैन, कतै भ्रष्टाचार र अनियमितता देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्ने छैन । ‘प्रधानमन्त्री ओलीले थपे, ‘मेरो आग्रह छ, मानवजातिलाई नै चुनौती दिएको यस लडाईंमै ध्यान केन्द्रित गरौं, अन्य सामान्य काम स्थिति सामान्य बनेपछि गर्न सकिन्छ ।’