भारतीय शेयर बजारमा सन फार्माको शेयरमा मूल्यलाई स्थिर राख्न कम्पनीले ‘बाइ ब्याक’ गर्ने घोषणा गरेको छ।

कोरोना भाइरसका कारण लगातार शेयर मूल्यमा प्रभाव पर्ने देखिएपछि कम्पनीले १७ सय करोड भारतीय रुपैयाँ बराबरको शेयर ‘बाइ ब्याक’ गर्ने भएको हो। जुन १.५७ प्रतिशत हो। उसले ४२५ रुपैयाँ दरमा ‘बाइ ब्याक’ गर्ने जनाएको छ। जबकि उसको दोस्रो बजारमा प्रति कित्ता शेयर मूल्य ३ सय ७१ रुपैयाँ छ। ‘बाइ ब्याकको प्रकृया, समय र थप जानकारी आगामी दिनमा दिइने कम्पनीको भनाइ रहेको भारतीय सञ्चार माध्यम मनि भास्करले जनाएको छ। ‘बाइ ब्याक’ हुने खबर आएसँगै दोस्रो बजारमा उसको शेयर मूल्य सम्हालिएको छ।

कुनै कम्पनीले आफ्नै शेयर लगानीकर्ताहरूबाट खरिद गर्ने प्रकृयालाई ‘बाइ ब्याक’ भनिन्छ। कम्पनीले धेरै कारणले यस्तो निर्णय गर्ने गरेका छन्। ‘बाइ ब्याक’ गर्ने विषयमा सबैभन्दा पहिले कम्पनीको सञ्चालक समिति बैठकले निर्णय गर्नुपर्छ। त्यसपछि कम्पनीले ‘बाइ ब्याक’ गर्ने घोषणा गर्छ। यसमा रेकर्ड मिति र ‘बाइ ब्याक’ को अवधि तय गरिन्छ।