काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भर्ना भएको १०औं दिन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका छन् । उनी शुक्रबार बेलुकी साढे ६ बजे डिस्चार्ज भएका हुन् । डिस्चार्ज लगत्तै प्रधानमन्त्री ओलीले पत्रकारतर्फ हेरेर मुस्कुराउँदै हात हल्लाउँदै धन्यवाद पनि दिए ।

उच्च मनोबल लिएर अस्पतालबाट बाहिरिका प्रधानमन्त्री ओली अस्पतालको आईसीयू कक्षबाट आफंै हिंडेर बाहिर आएका थिए । गाडी भएको ठाउँमा पुग्ने क्रममा उनले उपस्थित सबैलाई हात हल्लाएका थिए । गाडीमा चढ्नुभन्दा अघि उनका निजी चिकित्सक रहेकी र मिर्गौला प्रत्यारोपणमा संलग्न डा दिव्या सिंह शाहलगायत अन्य चिकित्सकले उनलाई साथ दिएका थिए । सँगै उनकी पत्नी राधिका शाक्य पनि थिइन् । स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्रीका शरीरका सबै सूचक राम्रो अवस्थामा रहेको पाइएपछि अस्पताल डिस्चार्जको निर्णयमा पुगेको हो ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली २० फागुनमा अस्पताल भर्ना भएका थिए । उनी डिस्चार्ज भएपछि बा२झ ३२३७ नम्बरको गाडीबाट सिधै बालुवाटारतर्फ लागे । प्रधानमन्त्री ओली डिस्चार्जका क्रममा हरियो ज्याकेट, खैरो पाइन्ट, कालो टोपीमा देखिएका थिए ।

प्रधानमन्त्री ओली केही दिनमै निवासबाट काम सुरु गर्न सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई बालुवाटारमा चिकित्सकीय निगरानीमा राखिएको छ । बालुवाटारमा प्रधानमन्त्री ओलीलाई आइसोलेसन कक्षमा राखिएको छ । उनलाई इन्फेक्सन नहोस् भनेर केही समय छुट्टै राखिने चिकित्सकले बताएका छन् ।
चिकित्सकसहितको व्यवस्था प्रधानमन्त्री कार्यालयले गर्ने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले बताए । उनले भने, ‘चिकित्सकले प्रधानमन्त्रीज्यूलाई निगरानी गर्नुहुन्छ । सबै व्यवस्था प्रधानमन्त्री कार्यालयले गर्नेछ ।’ इमरजेन्सी परे मात्रै अस्पतालमा आउनुपर्ने हुन्छ ।’

आवश्यक चिकित्सक, नर्स र अन्य चिकित्सकीय व्यवस्था निवासमै गरिएको छ । प्रधानमन्त्रीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलालाई भने बिहीबार नै डिस्चार्ज गरिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक प्राडा उत्तमकुमार शर्माले भने, ‘प्रधानमन्त्रीज्यूको पेटमा पाइप राखेका छौं । प्यारामिटर हेर्छौं । त्यसलाई चाँडोभन्दा चाडो निकाल्छौं । ’ मिर्गौला प्रत्यारोपणमा प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्या, प्राडा प्रेम ज्ञवाली, प्राडा उत्तमकुमार शर्मालगायतको टोली खटिएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

खर्च ५ लाख, बिल प्रधानमन्त्री कार्यालयमा पठाइने

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा अरू साधारण बिरामीलाई जति नै खर्च लागेको छ । अस्पतालका अनुसार प्रत्यारोपण र उपचारका लागि पाँच लाख खर्च भएको अस्पतालले जनाएको छ । सो खर्चको बिल अस्पतालले प्रधानमन्त्री कार्यालयलाई पठाउनेछ । खर्चको बिल बनाउन र अन्तिम हिसाब गर्न बाँकी रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा खड्काले जानकारी दिए ।