ओली जन्मदिन मनाउन जन्मथलो पुग्दा गाउँपालिका भरी नै सार्वजनिक बिदा

काठमाडौ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिन मनाउनकै लागि आइतबार प्रधानमन्त्री ओली गृहजिल्ला तेह्रथुमको जन्मस्थान तिनसल्ले जाने कार्यक्रम रहेको छ । जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकाले आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।
गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदै छन् । यसै अवसरमा उनले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन समेत गर्ने बताईएको छ ।
प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
पुनः मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले ६९ औं जन्म दिन जन्मथलोमै मनाउने इच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्रीको सहजताका लागि जन्मघर नजिकै हेलिप्याडसमेत निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्