विद्युतीय बसमा यात्रुको आकर्षण

एकान्तकुनाकी सम्झना घले केही समय कुरेर भए पनि विद्युतीय बसमा यात्रा गर्छिन् । अरु बसभन्दा आवाज नआउने, गन्ध नआउने भएकाले उनले विद्युतीय बस चढ्ने गरेकी हुन् । विद्युतीय बसमा यात्रा गर्न सहज भए पनि बस नै कम भएको उनको गुनासो छ ।
उनले भनिन्, “कहिलेकाहीँ त एउटा भर्खर जाँदा घण्टौँ कुर्नुपर्छ, त्यसैले केही समय कुर्दा पनि आएन भने अरु गाडिमा हिँड्ने गर्छु ।” सुन्दर यातायात प्रालीले काठमाडौँ उपत्यकामा सञ्चालन गरिरहेको विद्युतीय बसप्रति यात्रुको आकर्षण बढिरहेको पाइएको छ । चक्रपथका रुटमा दैनिक धेरै सङ्ख्यामा सवारीसाधन गुड्ने भए पनि यात्रु यही बस कुरेर चढ्ने गरेको पाइएको हो । डिजेलबाट चल्ने गाडीभन्दा यसमा यात्रा आरामदायी हुने यात्रु बताउँछन् । विशेष गरी युवापुस्ता कुरेर पनि विद्युतीय बस चढ्ने गरेको पाइएको प्रालीले जनाएको छ ।
चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन शुरु गरेको सुन्दर यातायातले छिट्टै नै थप २५ बस ल्याउने भएको छ । बसमा यात्रुको आकर्षण बढिरहेको प्रालीका अध्यक्ष भेषबहादुर थापाले बताए । यात्रुको आकर्षण बढिरहेकै कारण र डिजेलभन्दा विद्युतीय बसमा नाफा हुँदा बस थप गर्ने प्रालीले जनाएको छ ।
चीनबाट खरिद गर्न लागिएको बसका लागि रकम भुक्तानी भइसके पनि उसले पछिल्लो दिनमा सामान निर्यात नगर्दा बस आउन नसकेको हो । गत भदौमा नै रकम भुक्तानी भइसकेको प्रालीका अध्यक्ष थापाले बताए । उनले भने, “कम्पनीले बस निर्माण गरिसकेकाले समस्या हल हुनासाथ आउनेछ ।”
गत असोजमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका थियो । ती चारै वटा बस हाल चक्रपथमा गुडिरहेका छन् । डिजेलबाट चल्ने बसभन्दा यी बसमा औसत रु दैनिक तीनदेखि चार हजार बढी नाफा हुन्छ । डिजेलबाट चल्ने गाडीले दैनिक झण्डै रु चार हजारदेखि चार हजार ५०० सम्मको पेट्रोलियम पदार्थमा खर्च हुन्छ । विद्युतीय बस चार्ज गर्दा दैनिक ९०० देखि एक हजार १०० सम्म खर्च हुने थापाले बताए । उनले भने, “कर्मचारीलाई तलबलगायतका कुरामा बराबर खर्च भए पनि डिजेल नचाहिँदा सञ्चालन खर्च कम लाग्छ ।”
बस सञ्चालन खर्च कम हुने भन्दै प्रालीले पहिलो चार महिनामा यात्रुलाई भाडामा छुट दिएको थियो । प्रालीले २० प्रतिशत भाडा कम लिने गरेकामा अरु यातायात व्यवसायी र यातायात व्यवस्था विभागले हालका लागि बराबर नै लिन भनेको अध्यक्ष थापाले बताए । सञ्चिता घिमिरे/रासस
प्रतिक्रिया दिनुहोस्