पूर्वसभामुख कृष्ण बहादुर महराले गत असोज १२ गते राति बेहोसीमै केही गलत गरेको आरोप लगाइन उनकै सचिवालयमा कार्यरत एक महिला कर्मचारी रोशनी शाहिले । लगत्तै भोलिपल्ट (असोज १३ गते) यो खबरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यम ततायो ।

त्यसपछि असोज १४ गते महरा स्वयम्ले सभामुख पदबाट राजीनामा दिए । जुन केही विवादित तवरमा राजीनामा पत्र लेखिएको भनेर आलोचना समेत भयो । त्यसै दिन रोशनीले कुरो फेरिन र महरा आफ्नो बुबा जस्तो भएको सञ्चार माध्यमलाई बताइन् । सोही दिन पीडित भनिएको महिलाले प्रहरीमा दिएको जाहेरी दर्ता भयो ।

यस्तो छ बाँकी घटनाक्रम,

महरा विरुद्ध जबरजस्ती करणी प्रयास र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा जम्मा ७ वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो । अन्त्यमा सोमबार फागुन पाँच गते जिल्ला अदालत काठमाडौंले महरालाई सफाइ दियो र उनी निर्दोष साबित भए ।

अब सांसद पद फिर्ता ?

सय दिनभन्दा बढी कारागारमा बसेर छुटेका महराले अब कहिले सांसदको रूपमा कामकाज गर्न पाउँछन् त ? वा पाउँदैनन् ? यो प्रश्न अब जनतामा आएको छ ।

संसद नियमावलीको नियम २४४ बमोजिम सांसद थुनुवा रहेको अवधिभर उक्त व्यवस्था लागु हुने उल्लेख गरिएको छ।

“निर्दोष साबित गरेको अदालतको फैसलाको प्रतिलिपि ल्याएको दिनदेखि उनले सांसद पदमा रहेर आफ्ना कामकाज गर्न पाउने छन् र आजको प्रतिनिधिसभा बैठकले उनको यो बाटो खुलाइसकेको छ । उनको निलम्बन फुकुवा भएको छ ।

अदालतले दोषी ठहर गरेको भए मात्रै सांसद पद स्वतः निलम्बन भएको मानिने नियमावलीको व्यवस्था छ।

कुरा फेर्ने पीडित !

जबरजस्ती करणीको आरोप लगाएर महरा विरुद्ध स्वयम्ले दिएको जाहेरीको विपक्षमा रहेर पीडित महिलाले अदालतमा कुरो फेर्दै एक निवेदन दिइन् । जसमा उनी स्वयम्ले ‘महरा निर्दोष’ भएको दाबी गरेकी थिइन् ।

सोही घटनामा अनुसंधानका लागी म्याद थपसम्बन्धी बहस भइरहेको इजलासमा पुगी उनले लिखित निवेदन दिएकी थिइन्।

यसअघि घटना सार्वजनिक भए लगतै आफ्नै कोठामा मदिराको बोतल, भाँचिएको चस्मालगायत सामग्री र अघिल्लो दिनको महरासँगको संवाद समेत प्रमाण स्वरूप सर्वजनीक गरेकी थिइन् ।

जसमा आफ्नै कुरा उल्ट्याउँदै उनले बाबु समानको व्यक्तिबाट कुनै दुर्व्यवहार नभएको र आफूले रिसको झोँकमा आरोप लगाएको बताएकी थिइन्।

रिसको झोँकमा आरोप लगाउने रोशनीलाई के कारबाही ?

यसरी रोशनीले रिसको झोकमा महराको सभामुख पद मात्र हैन, इज्जत, मान र प्रतिष्ठा पनि कप्लक्कै खाइदिइन् । अदालतले महरालाई बाहिरबाट सफाइको लेप लगाइदिए पनि राजनैतिक यात्रामा सफलतापूर्वक हिँडिरहेका महरा अब जनताका नजरमा खोक्रो भइसकेका छन् ।

यसरी रिसको झोँकमा जो कोहीको मान प्रतिष्ठामा खेल्न पाउने अधिकार महिलामा जन्म सिद्ध दिइरहने कि कानुनमा यसको कुनै समाधान पनि अटाउँछ ?

यो घटनामा दुई जनामा एक जना पक्कै दोषी छन्। अदालतको फैसला अनुसार प्रमाण नपुगेकाले महराले सफाइ पाए । उनी निर्दोष देखिए । अब महरा निर्दोष नै हुन् भने गलत आरोप लगाउँदै अदालतमै पुगेर कुरा फेर्ने महिलामाथि कुनै कारबाही अघि बढ्ला त ?

मेडिकल रिपोर्ट बिनानै फैसला !

महरा प्रकरणले चर्चा पाइरहेकै समयमा महिला डिप्रेसनको बिरामी रहेको र सोही कारणले गलत आरोप लगाएको कुराले पनि सञ्चार माध्यममा आयो । तर उनी डिप्रेसनमा भए नभएको कुराको प्रमाण पुग्ने कुनै मेडिकल रिर्पोट नहुँदा नै अदालतको फैसलाले महरालाई सफाइ दियो ।

यसबाट महरालाई जोगाउन रोशनीलाई डिप्रेसनको नाटक गराइएको त हैन ? भन्ने एउटा प्रश्न पनि आउँछ । फेरी त्यसो हैन भने डिप्रेसनकै कारणले रोशनीले महराले कुनै कसुर नगरेको भन्दै अदालतमा निवेदन दिएकी पो हुन की ?जसको सही फैसला गर्ने मेडिकल रिपोर्ट कहाँ छ ?

अब महराको बाटो कता ?

राजनीतिमा लामो समयको सङ्घर्ष पश्चात्को पाएको उनको सफलता असोज १२ को उक्त घटनाले शून्य बराबर बनाइदियो । आजको प्रतिनिधिसभा बैठक पछि उनले सांसदको पद फिर्ता त पाए र पार्टीले पनि उनलाई न्याय गर्दै फेरी पार्टीमा स्थान पनि देला । तर जनताको नजरमा उनी पुरानै महरा हुन सक्लान् त ? त्यसको फैसला कसरी हुने ? प्रतिनिधिसभामा उनको सांसद पदको २ वर्ष समय सकिए पनि अझै तीन वर्ष कार्यअबधी बाँकी नै छ । महराले बाँकी रहेको तीन वर्षमा जनताको मन जित्ने काम गरेर देखाउने हो की ? महराका लागि यो पनि अबको बाटो हुन सक्छ । यदि उनले सोही सोच लिएर बाँकी तीन वर्ष काम गर्ने हो भने जनताको मन जित्न पक्कै सक्छन् । जसको मूल्याङ्कन गरेर अघिल्लो चुनावमा जनताले उनलाई साँचो सफाइ दिनेछन् ।