उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा नदिने अडान राखेपछि यसको विकल्पका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षहरू बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन् ।

‘उपसभामुखले राखेको अडानको वैकल्पिक समाधानमा छलफल केन्द्रीत हुने छ,’ ओलीनिकट एक उच्च नेताले भने ।

सुवाचन्द्र नेम्वाङ र अग्नी सापकोटामध्येबाट सभामुख बनाउन प्रचण्ड र ओलीबीच गम्भीर छलफल हुनेसमेत ती नेताले बताए ।

२६ पुसको सचिवालयले तुम्बहाम्फेलाई राजिनामा दिन लगाउने निर्णय गरेको थियो । सो निर्णयले  आफूलाई केही फरक नपर्ने भन्दै तुम्बाहाम्फे सभामुखका लागि आफू नै योग्य रहेको अडानमा छिन् ।

एउटै दलबाट सभामुख र उपसभामुख रहन नसक्ने संवैधानिक व्यवस्था भएकाले शीर्ष नेताहरू भने उनलाई राजिनामा गराएर नेम्वाङ र सापकोटामध्येबाट एक जनालाई सभामुख पदका लागि अघि सार्ने योजनामा छन् ।

‘अध्यक्षद्वयको छलफल सभामुख कसलाई बनाउने भन्नेमै केन्द्रित रहेको बुझेको छु,’ विशेष कामले स्याङ्जा पुगेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘सभामुख पद नेकपाले नै पाउनेमा कुनै शङ्का छैन । उपसभामुखको अडानका कारण केही ढिलो हुन गएको हो । चाँडै निष्कर्ष निस्कने छ ।’