अर्थमन्त्री सकारात्मक : लगानीकर्ता

काठमाडौं। अर्थमन्त्री हुँदा होस् या नहुँदा डा. युवराज खतिवडाले सेयर बजारका बारेमा एक समान धारणा राख्दै आएका छन्। मंगलबार साँझ पनि उनले पुरानै भनाइलाई निरन्तरता दिँदै ‘विवेक पुर्याएर लगानी गर्न’ सुझाव दिएका थिए।
उनको टिप्पणीलाई अधिकांश समय ‘नकारात्मक’ भन्ने लगानीकर्ताहरुले मंगलबार भने स्वागत गरेका छन्।
नेपाल स्टक एक्सचेञ्जको वार्षिकोत्सवमा प्रमुख अतिथि बनेर पुगेका खतिवडाले हिजो र आजको नेप्सेको विकासलाई तुलना मात्रै गरेनन्, आगामी रणनीतिका बारेमा पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए।
‘हिजो तीन महिना सेयर भरेपछि पर्यो परेन भनेर समय लाग्थ्यो। अर्को तीन महिना वितरणमा लाग्थ्यो। परेन भने पैसा फिर्ता गर्न अर्को तीन महिना लाग्थ्यो। त्यो बेला अर्को कम्पनी सेयर निकाल्यो भने भर्ने पैसा हुँदैन थियो,’ उनले भने, ‘आज त्यो समस्या छैन। आश्वाले सबै कुरा सजिलो बनाइ दिएको छ।’
पुँजी बजारले कसरी फड्को मारिरहेको छ भन्ने उदाहरणसहित भनाइ राखेपछि खतिवडा नेप्सेको पुनर्संरचनामा प्रवेश गरेका थिए। उनले आफू गभर्नर हुँदै राष्ट्र बैंकको सेयर नेप्सेबाट घटाउने निर्णय भएको भएपनि त्यसले गति लिन समय लागेको बताए। यो बीचमा केही सेयर प्रभु र लक्ष्मी बैंकले किनेका छन्। अर्को वर्षसम्म १० प्रतिशतमा झारिसक्ने अपेक्षा रहेको खतिवडाले सुनाए।
उनले नेप्सेमा पुँजी संरचनासँगै सञ्चालक समिति पनि फेरिने बताए। उनले भने, ‘त्यसपछि सञ्चालक समितिमा जानकार सदस्यहरू आउँछन्।’
त्यसपछि अर्थमन्त्री खतिवडाले लगानीकर्तालाई कसरी लगानी गर्ने भनेर सम्झाए। उनले भने, ‘सोचविचार गरेर लगानी गर्नु भयो भने यसले ड्राइफ्रुट्स पनि ख्वाउँछ।’
उनले नेपाल राष्ट्र बैंक आरटीजीएसमा गइसकेका कारण अब नेप्से पनि जानु पर्ने बताए। यसले गर्दा रियल टाइम कारोबारमा गइसकेपछि दिनमै धेरै कारोबार गर्न सकिने र अब त्यतातिर जानु पर्ने बताए।
उनले सेयर ब्रोकर थप्ने विषयमा पनि अझै छलफल गरिने बताए। करका विषयमा पनि बजेटका बेलामा पुनरावलोकन गर्न सकिने बताए।
यसअघि पनि अर्थमन्त्रीले सेयर बजारका बारेमा यस्तै खालका टिप्पणी गर्थे। बजार कहिलेकाँही अस्वभाविक रूपमा बढ्दा ज्वरो आउने र कहिलेकाँही तापक्रम घट्ने टिप्पणी मंगलबार पनि दोहोर्याए।
तर मंगलबारको भाषणलाई भने लगानीकर्ता र ब्रोकरले निक्कै सकारात्मक भनेर प्रतिक्रिया दिए। औपचारिक कार्यक्रमपछि सुरू भएको रात्रीभोजमा भेटिएका ब्रोकरहरूले ‘बजार क्रमशः बढेका बेला अर्थमन्त्रीको टिप्पणी आउँदा त्यसलाई सकारात्मक सुनिएको’ बताए।
एक ब्रोकरले भने, ‘अर्थमन्त्रीले अरू बेला पनि यही भाषण गर्नु हुन्थ्यो। यसपाली भने सकारात्मक ढंगले भाषण गर्नु भयो। अघिल्लोपटक यही कुरा भने पनि कडिकडाउ ढंगले भन्नुहुन्थ्यो।’
प्रतिक्रिया दिनुहोस्