खुमलटारमा के गर्दैछन प्रचण्ड ?

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजिनामा नदिँदा सभामुख चयनबारे गतिरोध लम्बिएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन ‘पर्ख र हेर’ को रणनीति अख्तियार गर्ने भएका छन्।
प्रचण्डले वालुवाटार र शीतल निवासबाट आउने ‘रेस्पोन्स’का आधारमा मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको उनीनिकट नेताहरुले बताएका छन्।
प्रचण्डको पछिल्लो मुड हेर्दा उनी केही दिन मौन रहने संकेत देखाएका छन् । सोमबार दिनभर खुमलटार निवासबाट बाहिर ननिस्किएका उनी मंगलबार विहानै चितवन जाँदैछन्।
सोमबार साँझ जनार्दन शर्मा र मातृका यादव लगायत केहि नेतासँग भेट गरेका प्रचण्डले अब केहि दिन राजनीतिक विषयका छलफल पन्छाउने मनस्थिति बनाएको बताइएको छ।
आफूलाई गलाउने उद्देश्यसहित उपसभामुख तुम्बाहाङ्फेको राजिनामा रोकेको ठानेपछि प्रचण्डले पनि केही दिन पर्ख र हेरको रणनीति लिएका हुन्।
बालुवाटार र शीतल निवासबाट आउने प्रतिक्रियापछि मात्रै प्रचण्डले आफ्ना अडानका बारेमा छलफल गर्ने उनीनिकट एक स्थायी समिति सदस्यले जानकारी दिए।
पूर्वसहमति अनुसार सभामुख पद पुर्वमाओवादीकै नेतालाई नदिई सुखै छैन भन्ने पूर्वमाओवादीहरुको बुझाई छ। ‘केही दिनमात्र यसो हेरौं भनेर कसैले उचालेको आधारमा उपसभामुखले अडान लिएकी हुन्, जुन कुरा २–३ दिनमा आँफै साम्य हुनेछ,’ ती नेताको बुझाई छ।
शनिबार बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई पदबाट राजिनामा गरि सभामुख चयन प्रक्रियाको मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो।
यसअघि उनले नेकपाले निर्णय गरेर आग्रह गरे आफू राजिनामा दिन तयार रहेको बताएकी थिइन्। अध्यक्ष ओली अनुपस्थित रहेको उक्त बैठकको निर्णयपछि भने तुम्बाहाङ्फेले संसद्को नेतृत्वमा रिक्तता हुने गरि आफूले राजिनामा नदिने बताइन्।
आफू सभामुखको प्रबल दाबेदार रहेको बताएकी उनले पहिले सभामुखको उमेदवार तय गरेपछि मात्र राजिनामा दिने बताएकी छन्। आइतबार राजिनामा दिएर सभामुख चयन गर्ने बाटो खोलिदिन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले गरेको आग्रहलाई उनले अस्वीकार गरेकी थिइन।
उपसभामुखले नेकपा नेतृत्वको औपचारिक निर्णय नै अवज्ञा गर्नुको राजनीतिक अर्थ रहेको र त्यसको पछाडि नेकपाभित्रकै ‘केही नेताहरु सक्रिय रहेको सुइको पाएपछि’ अध्यक्ष प्रचण्ड विकसित घटनाक्रमलाई सूक्ष्म अध्ययन मात्र गर्ने निर्णयमा पुगेका हुन्।
उपसभामुखको राजिनामा नआई सभामुख नेकपाले पाउने अबस्था छैन। तर, तुम्बाहाङ्फेलाई राजिनामा दिनबाट रोक्न नेकपाभित्रकै केही नेताहरुको सक्रियता बढेको प्रचण्ड निकट स्रोतले बतायो। ‘प्रचण्डलाई गलाउने रणनीतिसहित उपसभामुखलाई उक्साएको उहाँलाई सूचना आएको छ,’ स्रोतले भन्यो।
बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि उक्त पदमा पुर्वमाओवादीकै नेता पठाउन प्रचण्डलाई दबाब परेको छ। तर, आफू उपसभामुख भएकाले सभामुखको पहिलो दाबेदार आफै रहेको जिकिर गर्दै तुम्बाहाङ्फेले राजिनामा नदिने अड्डी कसेकी छन्।
आइतबार बालुवाटारमा उपसभामुखले लिएको अडान अस्वभाविक रहेको र त्यसमा ठूलै शक्तिको आड रहेको खुमलटारले निष्कर्ष निकालेका ती नेताले जानकारी दिए ।
‘आइतबार बालुवाटारमा दुई अध्यक्षसामु उपसभामुख तुम्बाहाङ्फेले जुन अभिव्यक्ति दिनुभयो त्यो चानेचुने कुरा होइन। पार्टी नेतृत्वलाई चुनौति दिने शक्ति कहाँबाट आउँछ?’ प्रचण्डनिकट अर्का स्थायी समिति सदस्य हरिबोल गजुरेलले प्रश्न गरे।
यो विषयलाई गम्भिररुपमा लिएका प्रचण्ड अब २ दिन विकसित नयाँ परिस्थितिको अध्ययन गरेर बस्ने बताइएको छ।
संगठनले पठाएको व्यक्तिले पार्टीले गरेको आग्रहलाई अस्वीकार गर्न त्यतिकै सक्तैन, गजुरेलले भने। ‘पार्टीको निर्णय उपसभामुखले नमान्ने हो भने आउने दिनहरुमा त्यसले समस्या ल्याउँछ। यदि उनको राजिनामा रोकेर कसैले केही स्वार्थ पुरा गर्न खोजेको हो भने यस्तो व्यवहारले नेकपालाई संकटमा धकेल्छ ।’
पुस २३ गते उपाध्यक्ष वामदेव गौतमको भैसेपाटीस्थित निवासमा अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठसहितका नेताहरुबीच छलफल भएको समाचार सार्वजनिक भएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डसँग रुष्ट भएका हुन्। ओलीले सो भेटघाटलाई आफ्नाविरुद्ध गरिएको मोर्चाबन्दीको रुपमा लिएका छन्।
त्यसैले उपभामुख तुम्बाहाङ्फेलाई राजिनामा नदिन उक्साएको नेकपाका स्थायी समिति सदस्य चक्रपााणी खनालले टिप्पणी गरे। ‘भैसेपाटीको अस्तीको भेटघाटको काउन्टर हो उपसभामुखको राजिनामामा भएको ढिलाई,’ उनले भने।
त्यसो त सभामुख चयनमा देखिएको नेकपाको विवादको समाधान अन्ततः अध्यक्षद्वयले नै निकाल्नुपर्ने नेता गजुरेल ठम्याई छ।
प्रतिक्रिया दिनुहोस्