२६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई पार्टीमा आउन ढिलाई गर्न नहुने बताएका छन् । विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की लगायतलाई नेकपा प्रवेश गराउँदै उनले अरु नेताहरुलाई आउन आग्रह गरेका हुन् ।

‘मलाई लाग्छ भोलि स्वंयम विप्लव पनि यहाँ आउनुपर्छ। आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई फाइदा गर्दैन,’ पार्टी केन्द्रीय कार्यालयमा शनिबार अध्यक्ष प्रचण्डले भने, ‘मलाई त भरोसा छ एकदिन उहाँ (विप्लव) पनि यसैगरी आउनुपर्ने ठाउँमा पुग्नुहुन्छ।’

उनले कम्युनिष्ट नाम भएका पार्टीहरू पनि नेकपामा आउनुपर्ने बताए। ‘अरू साथीहरू पनि आउनुहुन्छ। जसरी सानो-सानो चुल्होचौको राखेर बसिराख्नुभएको छ। त्यहाँ बसेर केही हुन भन्ने बुझिसक्नु भएको छ जस्तो मलाई लाग्छ,’ उनले भने।