काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको छ ।

नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सभामुख उम्मेदवार को भन्ने विषयमा भने निर्णय गर्न सकेन ।

नेकपा सचिवालय सदस्य झलनाथ खनालले सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन लगाउने निर्णय गरेको जानकारी दिए ।

“उपसभामुखलाई राजीनामा गर्न लगाउने निर्णय भएको छ,” उनले भने ।

तर उपसभामुखले यसअघि राजीनामा नगर्ने अडान राख्दै आएको बारेमा राखिएको जिज्ञासामा उनले भने, “पार्टीलाई कसैले पनि च्यालेन्ज दिन मिल्दैन । च्यालेन्ज दिनेहरु आफै किनारा लाग्छन् । राजीनामा नदिए संविधान बमोजिम हुन्छ ।”

उता उपसभामुख तुम्वाहाङ्फेले पार्टीले सभामुख गुमाउनेगरी आफूले अप्ठेरो नपार्ने बताएको उनी निकट स्रोतले जानकारी दियो ।

उनी अहिले पनि परामर्शमा रहेको स्रोतले जानकारी दियो ।

“नेकपाले सभामुख गुमाउनेगरी पार्टीलाई अप्ठेरो पार्दिनँ भन्नुभएको छ,” उनी निकट स्रोतले भन्यो ।